उड्नेमा कोरोना नलाग्ने, गुड्नेमा मात्र लाग्ने हो ?

59

काठमाडौं । हवाई उडान र सार्वजनिक यातायातबिच सरकारले विभेदकारी नीति लिएको यातायात व्यवसायीहरूले आरोप लगाएका छन् ।
असोज १ गतेबाट सार्वजनिक सवारी सञ्चालनमा ल्याउनका लागि सरकारले बसको आधा क्षमतामात्रै यात्रु राखेर सवारी चलाउन दिएको थियो भने आज (सोमबार) बाट पूर्ण क्षमतामा यात्रु राखेर आन्तरिक हवाई उडान शुरू भएका छन् ।

यातायात टाइ्म्ससंग कुरा गर्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका निवर्तमान अध्यक्ष एवं नेपाल गणतान्त्रिक यातायात व्यवसायिक मञ्चका केन्द्रीय अध्यक्ष डोलनाथ खनालले यात्रुबाहक सवारीलाई सरकारले विभेद गरेको बताए । यात्रु र व्यवसायी दुबैलाई नोक्सानी पु¥याउने काम भएको उनले गुनासो गरे ।

“सार्वजनिक सवारीलाई मापदण्ड चाहिने, विमानलाई मापदण्ड नचाहिने ?” उनले आक्रोश व्यक्त गरे ।
व्यवसायी, यात्रु तथा गाडीका कर्मचारीहरू सबैले सावधानी अपनाएर पूर्ण क्षमतामा सवारी सञ्चालन गर्नुपर्ने व्यवसायीहरूको माग रहेको छ ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उपाध्यक्ष ऐन कुमार शाहीले साविककै भाडादर राखेर सार्वजनिक यातायात पूर्ण क्षमतामा सञ्चालन हुनुपर्नेमा जोड दिए । यातायात टाइम्ससंगको कुराकानीमा उड्नेमा कोरोना नलाग्ने, गुड्नेमा मात्र लाग्ने हो ? भनि प्रश्न गरे ।

यता नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले सरकारले दोहोरो नीति लिएको औंल्याए । कोरोना कहरमा सार्वजनिक यातायातमा भाडा बढाइदिएर व्यवसायीहरूलाई बदनाम गराउन खोजेको गुनासो गरे ।

उनले भने “ साविककै भाडादर लिएर हामीले पूर्ण क्षमतामा यातायात सञ्चालन गर्न पाउनु पर्यो । ”
निजी यातायात र हवाई यातायातमा सरकारले जसरी यात्रु बोक्न दिएको छ, सार्वजनिक यातायातमा पनि त्यसैगरी यात्रु बोक्न पाउनु पर्ने व्यवसायीहरूको माग रहेको छ ।