काठमाडौं । भोलि असोज १ गतेबाट सञ्चालन हुने सार्वजनिक सवारी साधनहरूमा स्वास्थ्य मापदण्ड पालना गर्नका लागि संयुक्त कार्यदलले सम्बन्धित व्यवसायी, मजदुर तथा यात्रुहरूलाई आग्रह गरेको छ ।
बुधबार प्रेस विज्ञप्ति निकाल्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल यातायात मजदुर संघ, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठन सम्मिलित कार्यदलले सरोकार सबैमा स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरेको हो ।
स्वास्थ्य मापदण्ड अन्तर्गत चालक, सह–चालक, परिचालक तथा बुकिङ्ग कर्मचारीले मास्क सेनिटाईजर, पञ्जा तथा फेस भाइजर लगायतका स्वास्थ्य उपकरणहरू अनिवार्य रुपमा बोक्नुपर्ने, सीट क्षमताको ५० प्रतिशत मात्र यात्रु राख्न पाइने रहेको छ ।
यस्तै सरकारले तोके अनुसार साविक भाडादर भन्दा ५० प्रतिशत थप लिने भन्ने विज्ञप्तिमा उल्लेख छ ।
यता यात्रुहरूलाई पनि यात्रा अवधिभर मास्कको प्रयोग गर्न आग्रह गरिएको छ । सवारीमा चढ्दा, ओर्लँदा, खाजा तथा खाना खाने समयमा भिडभाड नगर्न पनि आग्रह गरिएको छ ।
सवारीमा चढ्दा यात्रुले सेनिटाइजरको प्रयोग गर्नु पर्नेछ ।
यस्तै कोरोना बीमा गर्न बाँकी रहेका श्रमिकहरूको पनि तत्काल बीमा गर्न संयुक्त कार्यदलले आग्रह गरेको छ ।