झण्डै डेढ दर्जन विमानस्थल गौचरनमा परिणत, के राजनीतिक स्टन्ट मात्र थियो ?

48

काठमाडौं । नेपालमा हाल ५५ वटा विमानस्थलहरू छन् । जसमा ३४ वटा सञ्चालनमा छन् भने केही निर्माणको क्रममा रहेका छन् । यस्तै झण्डै डेढ दर्जन विमानस्थल निर्माण भएर पनि बर्षौदेखि बन्द अवस्थामा छन् ।

बन्द अवस्थामा रहेका विमानस्थलहरूमा बैतडी विमानस्थल, बझाङको चैनपुर विमानस्थल, दार्चुला विमानस्थल, ढोरपाटन विमानस्थल, डोल्पा मासिनेचौर विमानस्थल र डोटी विमानस्थल रहेका छन् ।

यस्तै जिरी विमानस्थल, कंगेलडाँडा, लाङटाङ विमानस्थल, मनाङ विमानस्थल, मेघौली विमानस्थल, कञ्चनपुरको महेन्द्रनगर विमानस्थल र पालुङटार विमानस्थल बन्द अवस्थामा रहेका छन् । रोल्पा विमानस्थल, स्याङबोचे विमानस्थल र टीकापुर विमानस्थल पनि हाल बन्द अवस्थामा छन् ।
यी विमानस्थलहरू निर्माण भएको वर्षौं भएपनि सञ्चालनमा आउन सकेका छैनन् । राजनीतिक स्टन्टका रुपमा विमानस्थल बनाउने होडबाजी चल्दा विमानस्थल सञ्चालनमा आउने वातावरण नबनेको सम्बन्धित निकायको भनाई छ ।

एयरपोर्ट बनाउँदा व्यवसायिक उडानका लागि उपयुक्त छ कि छैन भन्नेबारे पनि हेक्का राख्नुपर्ने यातायात टाइम्ससंगको कुराकानीमा नागरिक उड्ययन प्राधिकरणका उप महानिर्देशक राजकुमार क्षेत्री बताउँछन् ।

“हचुवाको भरमा विमानस्थल बनाएर मात्रै हुँदैन, व्यवसायिक रुपमा घाटा हुने अवस्था देखियो भने जहाजहरू उडानका लागि हवाई कम्पनीहरू तयार हुँदैनन् ।” उनले भने ।

बन्द अवस्थामा रहेका अधिकांश विमानस्थलहरू गौचरनमा परिणत भएका छन् । तथापि स्थानीय जन प्रतिनिधिहरू विमानस्थल खुलाउने कसरतमा लाग्छन् तर लामो समयसम्म पनि समस्या ज्यूँका त्यूँ नै रहन्छ । यसले स्थानीय स्तरमा आश्वासन बाँड्ने भन्दा अन्य कुनै उपलब्धी हासिल गर्न नसकेको देखिन्छ ।
एयरपोर्ट बनाउँदा ठाँउ, भौगोलिक अवस्था र व्यवसायिक रुपमा पनि ठिक छ या छैन भन्ने निर्क्यौल गरेर मात्र विमानस्थल बनाउनु पर्नेमा सरोकारवालाहरूको एकमत छ ।

प्राधिकरणका उपमहानिर्देशकले यातायात टाइम्ससंगको कुराकानीमा भने “एयरपोर्ट मात्र बनाएर भएन, एयरपोर्ट सञ्चालनका लागि जहाज आउने वातावरण पनि हुनुपर्छ । व्यसायिक उडान गर्न सकिने किसिमको हुनुपर्यो । खाली राजनीतिक स्टन्टका लागि मात्र एयरपोर्ट मात्र बनाएर हुँदैन ।“