काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ तथा ३ वटा यातायात मजदुर संघ संगठनको संयुक्त कार्यदलले असोज १ गतेबाट सम्पूर्ण सार्वजनिक सवारी सञ्चालन गर्ने भन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रीलाई ध्यानाकर्षण गराएका छन् ।
शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङलाई भेटेर कार्यदलले चारबुँदे माग सहितको ध्यानाकर्षणपत्र बुझाएका हुन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, अखिल नेपाल यातायात मजदुर संघ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन र नेपाल यातायात मजदुर संघको संयुक्त कार्यदलले यातायात मन्त्री नेम्वाङलाई भेटेर अब सुरक्षाका मापदण्ड अपनाउँदै गाडी सञ्चालनको वातावरण बनाउनु पर्ने माग गरेका हुन् । अन्तर जिल्ला यातायात सञ्चालनमा भदौ ३२ गतेसम्म रोक लगाइएको छ । तर कोरोना संक्रमण नियन्त्रणमा आइनसकेकाले यो थप लम्बिने सम्भावना छ ।
असोज १ गतेबाट अन्तर जिल्ला यातायात खुला गर्नुपर्ने, उपत्यकामा १६ सिटभन्दा कम क्षमताका सवारी पनि चलाउन पाउनुपर्ने, होल्डिङ सेन्टरमा भएको अनियमितताबारे छानविन हुनुपर्ने र सवारीको आयु तोकेर दर्ता तथा नविकरण रोक्ने निर्णय खारेज गर्नुपर्ने उनीहरूको माग छ ।
सरकारको निर्णय मानेर ६ महिनादेखि गाडी थन्क्याएर बसेको, तर असोज १ बाट नमान्ने उनीहरूले बताएका छन् ।
जवाफमा मन्त्री नेम्वाङले यातायात व्यवसायीहरूको माग जायज भएको बताएका छन् । सो विषयमा थप छलफल गरेर टुंगोमा पुग्नुपर्ने मन्त्री नेम्वाङको भनाई छ