लमजुङ । लमजुङमा यातायात सम्वन्धी सेवा प्रवाह सुरु भएको छ । जिल्लास्थित पूर्वाधार विकास कार्यालयमार्फत यातायात सम्वन्धी सेवा प्रवाह सुरु भएको हो । गण्डकी प्रदेश सरकारले यातायात कार्यालयबाट हुने सेवा प्रवाहका लागि लमजुङसहित तीन जिल्लामा सेवा विस्तार गरेसँगै लमजुङमा पनि सेवा प्रवाह सुरु भएको हो । ब्लूबुक नविकरण, यातायात रुट पर्मिट, नविकरण तथा पटके संकलन सेवा सुरु गरिएको पूर्वाधार विकास कार्यालय लमजुङले जनाएको छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले भर्चुअल माध्यामबाट यातायात सेवाको उद्घाटन गरेका हुन् । सेवा प्रवाहसँगै पूर्वाधार विकास कार्यालय लमजुङले पहिलो सेवाग्राहीलाई सम्मान समेत गरेको छ । बेसीशहर–८ का यज्ञनारायण श्रेष्ठलाई कार्यालय प्रमुख गिरीले मायाको चिनोसहित सम्मान गरेका हुन् ।
सेवा विस्तार भएसँगै ब्लूबुक नविकरणसहित अब रुट पर्मिट, नविकरण, सवारी करलगायतका काम जिल्लाबाटै गर्न सकिने भएको छ । यसअघि तनहुँबाट हुँदै आएको यातायात सम्बन्धी सेवालाई चालु आर्थिक वर्षबाट सम्बन्धित जिल्लामै कार्यालय स्थापना गरी सेवा विस्तार गर्ने प्रदेश सरकारले निर्णय गरेको हो । प्रदेश सरकारले गोर्खा, लमजुङ र स्याङ्जामा सेवा विस्तार गरेको हो । कोभिड–१९ को प्रभावसँगै सेवा प्रवाहको लागि प्राविधिक व्यवस्थापन गर्न समय लागेको कार्यालयले जनाएको छ ।