सिन्धुपाल्चोक–काठमाडौं जोड्ने सडक निर्माण सुरु

50

काठमाडौँ । सिन्धुपाल्चोकको सदरमुकाम चौताराबाट काठमाडौं जोड्ने छोटो दूरीको सडक स्तरोन्नतिको काम सुरु गरिएको छ ।
चौतारा बसपार्क–सिपाघाट–कात्तिके–काठमाडौं अन्तर्गतको झ्याँडी–देउराली सडक खण्ड स्तरोन्नति कार्यको शुभारम्भ गरिएको हो ।
बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँल र सामाजिक विकासमन्त्री युवराज दुलालले सडकको उद्घाटन गरे । मन्त्री दुलालले डोजरले सडक खन्दै र फुयाँलले सावेलले बाटो खनेर सडक स्तरोन्नतिको कामको उद्घाटन गरेका हुन् । चौतारा बसपार्क–सिपाघाट–कात्तिके–काठमाडौं सडकको यो दोस्रो खण्ड हो । चौतारादेखि झ्याडी खोलासम्मको पहिलो खण्डको ९.४ किलोमिटर स्तरोन्नतिको काम भइरहेको छ ।

दोस्रो खण्डको रूपमा चौतारा साँगाचोकगढी नगरपालिका–७ स्थित झ्याडी खोलादेखि इन्द्रावती गाउँपालिका–७ स्थित देउरालीसम्मको करिब १२.६५० किलोमिटर स्तरोन्नति गरिन लागिएको हो । यो सडक प्रदेश सरकारबाट बहुवर्षीय गुरुयोजना सुरु भई दुई वर्षभित्र निर्माणकार्य सम्पन्न गर्ने लक्ष्य रहेको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

सडक निर्माणको ठेक्का श्री प्यासिफिक इन्जिनियरिङ कम्पनी प्रालि काठमाडौंले पाएको छ । यो सडक स्तरोन्नतिका लागि ४६ करोड ७३ लाख ४२ हजार ९ सय लागत लाग्ने अनुमान गरिएको थियो । सोमध्ये प्यासिफिक इन्जिनियरिङ कम्पनीले २९ करोड ४९ लाख ५९ हजार नौ सयमा ठेक्का सम्झौता गरेको हो । २०७९ असोज २७ गते यसको निर्माणकार्य सम्पन्न गर्नुपर्नेछ ।