चितवन राष्ट्रिय निकुञ्जमा ८४ हजार पर्यटक, १० करोड राजस्व सङ्कलन

0
 चितवन । चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनामा ८४ हजारभन्दा बढी पर्यटकले भ्रमण गरेका छन्। निकुञ्ज कार्यालयको तथ्याङ्कअनुसार साउनदेखि कात्तिक मसान्तसम्म ८४ हजार ५४ पर्यटक निकुञ्ज पुगेका हुन्।
निकुञ्ज भ्रमण गर्नेमा नेपाली पर्यटकको सङ्ख्या सबैभन्दा बढी छ। चार महिनाको अवधिमा ४५ हजार ३६८ नेपालीले निकुञ्जको भ्रमण गरेका छन्। यसैगरी सार्क राष्ट्रबाट तीन हजार ७८७ र अन्य विदेशी मुलुकबाट ३४ हजार ८९९ पर्यटक आएका छन्।
निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार दुर्लभ एकसिङ्गे गैँडा, पाटेबाघ, हात्ती, घडियाललगायत वन्यजन्तुको अवलोकनका लागि पर्यटक चितवन राष्ट्रिय निकुञ्ज पुग्ने गरेका छन्। प्राकृतिक वातावरण, वन्यजन्तु तथा विभिन्न प्रजातिका चराचुरुङ्गीको अवलोकन निकुञ्जका प्रमुख आकर्षण हुन्।
गत आर्थिक वर्ष २०८२/८३ मा निकुञ्जमा कुल दुई लाख ७२ हजार ९२३ पर्यटकले भ्रमण गरेका थिए। तीमध्ये एक लाख ६१ हजार ३७५ नेपाली, २२ हजार ८८३ सार्क राष्ट्रका र ८८ हजार ६६५ अन्य विदेशी पर्यटक रहेका थिए।
पर्यटक आगमनसँगै निकुञ्जको राजस्व सङ्कलनमा समेत उल्लेख्य योगदान पुगेको छ। चालु आवको कात्तिक मसान्तसम्म निकुञ्जले १० करोड छ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको सूचना अधिकारी तिवारीले जानकारी दिनुभयो। यसमध्ये पर्यापर्यटनबाट मात्रै नौ करोड ७३ लाख १६ हजार ५०० रुपैयाँ आम्दानी भएको छ।
त्यस्तै, काठ तथा दाउरा बिक्रीबाट २८ हजार ६५५ रुपैयाँ, गैरकाष्ठ वनपैदावार बिक्रीबाट १८ लाख १३ हजार १८१ रुपैयाँ, दण्डसजायबाट दुई लाख १३ हजार ३०० रुपैयाँ र अन्य शीर्षकबाट १२ लाख ३२ हजार ७०० रुपैयाँ राजस्व सङ्कलन भएको निकुञ्जले जनाएको छ।
गत आर्थिक वर्षमा निकुञ्जले कुल ३१ करोड एक लाख ६४ हजार ५५१ रुपैयाँ राजस्व सङ्कलन गरेको थियो। पछिल्लो चार महिनाको पर्यटक आगमन र राजस्व सङ्कलनले चितवन राष्ट्रिय निकुञ्ज नेपालको प्रमुख वन्यजन्तु तथा पर्यापर्यटन गन्तव्यका रूपमा स्थापित रहेको देखाएको छ।