भक्तपुर जिल्ला अदालत इकाई बारको ३४औँ वार्षिक साधारण सभा सम्पन्न

0

भक्तपुर । भक्तपुर जिल्ला अदालत इकाई बार एसोसिएसनको ३४औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। नेपाल बार एसोसिएसनका अध्यक्ष वरिष्ठ अधिवक्ता प्रा.डा. विजयप्रसाद मिश्रको प्रमुख आतिथ्य तथा भक्तपुर जिल्ला अदालतका प्रमुख जिल्ला न्यायाधीश नवराज दाहालको विशेष आतिथ्यमा अदालतको सभाहलमा सभा सम्पन्न भएको हो।

कार्यक्रममा प्रमुख अतिथि नेपाल बार एसोसिएसनका अध्यक्ष मिश्रले नेपालको न्यायिक तथा कानुनी क्षेत्रमा देखिएका बेथिति, चुनौती र सुधारका आवश्यकताबारे चर्चा गरे। न्यायपालिकाप्रति नागरिकको विश्वास कायम राख्न न्यायिक क्षेत्रमा पारदर्शिता, जवाफदेहिता र निष्पक्षता अपरिहार्य रहेको उल्लेख गर्दै उनले कानुन व्यवसायी र न्यायिक निकायले आफ्नो व्यावसायिक मर्यादा तथा जिम्मेवारीप्रति सचेत हुनुपर्नेमा जोड दिए।

न्याय क्षेत्रमा देखिने विकृति र विसङ्गतिको अन्त्यका लागि नेपाल बार एसोसिएसनले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने धारणा राख्दै उनले न्यायपालिकाको स्वतन्त्रता, कानुनी शासनको प्रत्याभूति र नागरिकको न्यायमा सहज पहुँच सुनिश्चित गर्न बार र बेन्चबीच रचनात्मक सम्बन्ध आवश्यक रहेको बताए।

विशेष अतिथि भक्तपुर जिल्ला अदालतका प्रमुख जिल्ला न्यायाधीश दाहालले न्याय सम्पादनलाई प्रभावकारी, छिटोछरितो र निष्पक्ष बनाउन अदालत र बारबीच सहकार्य आवश्यक रहेको बताए। अदालतको कामकारबाहीलाई जनमैत्री र सेवाग्राहीमुखी बनाउन न्यायाधीश, कर्मचारी तथा कानुन व्यवसायी सबैले आ–आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्नुपर्नेमा उनले जोड दिए।

अदालत र बारबीचको सम्बन्ध प्रतिस्पर्धाभन्दा पनि न्याय सम्पादनलाई सहज, विश्वसनीय र प्रभावकारी बनाउने साझा उद्देश्यमा आधारित हुनुपर्ने उनको भनाइ थियो। न्यायिक प्रक्रियामा देखिने समस्या समाधान गर्न आपसी संवाद, समन्वय र व्यावसायिक मर्यादाको पालना महत्त्वपूर्ण हुने उनले बताए।

वार्षिक साधारण सभाले कानुन व्यवसायीहरूको व्यावसायिक हकहित, पेसागत मर्यादा, न्यायिक सुधार तथा न्यायमा सर्वसाधारणको पहुँच अभिवृद्धिका विषयमा छलफल गर्ने अवसर प्रदान गरेको छ।

न्यायपालिका र कानुन व्यवसायीबीचको सम्बन्धलाई थप सुदृढ बनाउँदै स्वतन्त्र, निष्पक्ष र जनउत्तरदायी न्याय प्रणाली निर्माणमा बार एसोसिएसनको भूमिका प्रभावकारी बनाउने अपेक्षासहित सभा सम्पन्न भएको हो।

भक्तपुर जिल्ला अदालत इकाई बार एसोसिएसनका अध्यक्ष रामसुन्दर खाइतुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल कानुन आयोगका पूर्वअध्यक्ष बाबुराजा जोशी, बार एसोसिएसनका पूर्वअध्यक्षहरू, जिल्ला न्यायाधीशहरू, नेपाल बार एसोसिएसनका केन्द्रीय सदस्यहरू, नेपाल बार एसोसिएसन काठमाडौंका अध्यक्ष तथा सदस्यहरू, वरिष्ठ अधिवक्ताहरू, अधिवक्ताहरू तथा अभिवक्ताहरूको उपस्थिति थियो। कार्यक्रम बारका सचिव अनिस सुवालले सञ्चालन गरेका थिए।