काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पुरानो पुस्तासँगै नयाँ पुस्ताले पनि केन्द्रीय नेतृत्वमा आफ्नो दाबी प्रस्तुत गरेको छ। पदाधिकारी तहमा अनुभवी र पुरानै पुस्ताको प्रभाव कायम रहे पनि केन्द्रीय सदस्यमा भने युवा पुस्ताको उपस्थिति उल्लेख्य देखिएको छ।
१४औँ महाधिवेशनसम्म कांग्रेसमा उमेर समूह वा क्लस्टरको व्यवस्था थिएन। तर जेनजी आन्दोलनपछि आयोजित विशेष महाधिवेशनले ३५ वर्षमुनिका युवाका लागि छुट्टै क्लस्टरको व्यवस्था गरेपछि यसपटक युवा पुस्ताका लागि केन्द्रीय नेतृत्वमा पुग्ने बाटो थप सहज बनेको छ।
नयाँ व्यवस्थाअनुसार सातै प्रदेशबाट ३५ वर्षमुनिका युवातर्फ एक खुला र एक महिला गरी दुई जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन्। यससँगै कांग्रेसको केन्द्रीय तहमा कम्तीमा १४ जना ३५ वर्षमुनिका युवाको प्रतिनिधित्व सुनिश्चित हुनेछ।
युवा क्लस्टरअन्तर्गत उम्मेदवारहरूको संख्या पनि उल्लेख्य छ। कोशी प्रदेशमा महिला ८ र खुलातर्फ १३ जना, मधेशमा महिला ३ र खुलातर्फ १० जना प्रतिस्पर्धामा छन्। बागमतीमा महिला र खुला दुवैतर्फ ७–७ जना उम्मेदवार छन्। गण्डकीमा दुवै समूहमा ३–३ जना, लुम्बिनीमा महिला ५ र खुलातर्फ ७ जना, कर्णालीमा महिला ३ र खुलातर्फ ४ जना तथा सुदूरपश्चिममा महिला ७ र खुलातर्फ ५ जना प्रतिस्पर्धामा छन्।
यही प्रतिस्पर्धाबीच बागमती प्रदेशबाट ३५ वर्षमुनिको महिला क्लस्टरतर्फ उम्मेदवारी दिएकी छन्—१८ वर्षीया अभिप्सा पौडेल।
१८ वर्षमै केन्द्रीय सदस्य बन्ने हुटहुटी
मकवानपुरकी अभिप्सा पौडेल कांग्रेसको १५औँ महाधिवेशनकी कम उमेरकी महाधिवेशन प्रतिनिधिमध्ये एक हुन्। महाधिवेशन प्रतिनिधि बनेकै वर्ष कांग्रेसको केन्द्रीय सदस्य बन्ने लक्ष्यसहित उनले उम्मेदवारी दिएकी छन्।
‘हामीले बुझेका कुरा पार्टीलाई भन्नुपर्छ र निर्णायक ठाउँमा पुर्याउनुपर्छ भन्ने लागेर उम्मेदवारी दिएकी हुँ,’ अभिप्सा भन्छिन्।
कांग्रेसी परिवारमा हुर्किएकी अभिप्साको राजनीतिक यात्रा भने उमेरभन्दा निकै अगाडि सुरु भएको देखिन्छ। उनी सानैदेखि कांग्रेसको राजनीतिप्रति आकर्षित थिइन्।
‘म त जन्मिँदैको कांग्रेस हो। अरूले हाइहाइ भन्दा म जय नेपाल भन्थे रे,’ उनी हाँस्दै भन्छिन्, ‘अरूले कार्टुन हेर्ने उमेरमा मैले न्युज हेर्नुपर्थ्यो।’
राजनीतिप्रतिको यही रुचिलाई उनले विद्यार्थी जीवनमै सक्रियतामा बदलिन्। विद्यालयमा वक्तृत्वकलामा सक्रिय अभिप्सा १६ वर्षको उमेरमै नेपाल विद्यार्थी संघ (नेविसंघ) मकवानपुरको जिल्ला सचिव बन्न सफल भएकी थिइन्। त्यसबाहेक उनी लियो लाइन्स जिल्ला परिषद् ३२५ को जिल्ला सचिवका रूपमा समेत काम गरिसकेकी छन्। बालक्लबको नेतृत्वमा समेत सक्रिय रहेकी अभिप्साले किशोरावस्थादेखि नै सामाजिक तथा राजनीतिक गतिविधिमा सहभागिता जनाउँदै आएकी छन्। कानुन विषयमा उच्च शिक्षा हासिल गरेकी उनी अहिले पद्मकन्या कलेजमा सामाजिक विषय अध्ययन गरिरहेकी छन्।
‘निर्णायक ठाउँमा युवाको आवाज चाहिन्छ’
अभिप्साको उम्मेदवारी केवल उमेरका कारण चर्चामा आएको होइन। युवा पुस्ताले राजनीतिलाई हेर्ने दृष्टिकोण र पार्टीभित्र आफ्नो आवाज स्थापित गर्ने चाहनाले उनको उम्मेदवारीलाई अर्थपूर्ण बनाएको उनको दाबी छ।
उनका अनुसार युवालाई नेतृत्वमा ल्याउने कुरा केवल प्रतिनिधित्वमा सीमित हुनु हुँदैन। पार्टीको नीति निर्माण र निर्णय प्रक्रियामा पनि युवाको सक्रिय सहभागिता आवश्यक छ।
बागमती प्रदेशबाट ३५ वर्षमुनिको महिला क्लस्टरमा उम्मेदवारी दिएकी अभिप्साले आफूजस्ता नयाँ पुस्ताका युवाले पार्टीभित्र परिवर्तन, प्रविधि, शिक्षा, रोजगारी र सामाजिक मुद्दालाई प्राथमिकताका साथ उठाउन सक्ने विश्वास व्यक्त गरेकी छन्।
१८ वर्षको उमेरमै कांग्रेसको केन्द्रीय नेतृत्वमा पुग्ने उनको प्रयास सफल हुन्छ वा हुँदैन भन्ने टुंगो महाधिवेशनको निर्वाचनले लगाउनेछ। तर, उनको उम्मेदवारीले एउटा सन्देश भने स्पष्ट दिएको छ—कांग्रेसको केन्द्रीय नेतृत्वमा पुग्ने आकांक्षा अब पुरानो पुस्तामा मात्र सीमित छैन; किशोर पुस्ताले समेत आफ्नो स्थान खोज्न थालेको छ।














