वैधानिक नेतृत्वबाटै महाधिवेशन प्रक्रिया अघि बढाउने दाबी, मंसिर २१–२३ गते महाधिवेशन सम्पन्न गर्ने इतर पक्षको तयारी
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले संस्थापन पक्षले प्रस्ताव गरेको असोज ३ गतेको वडा अधिवेशनमा सहभागी नहुन पार्टीका नेता तथा कार्यकर्तालाई अपिल गरेको छ।
चुनदेवीमा आयोजित पत्रकार सम्मेलनमार्फत कांग्रेसको १५औँ महाधिवेशन तयारीका लागि इतर पक्षले गठन गरेको संयोजन समितिका संयोजक डा. शशांक कोइरालाले असोज ३ गतेदेखि सुरु हुने अधिवेशनका कुनै पनि गतिविधिमा सहभागी नहुन आग्रह गरेका हुन्।
कोइरालाले १४औँ महाधिवेशनबाट निर्वाचित पार्टीको वैधानिक नेतृत्वले नै विधान र पार्टीको वैधानिक प्रक्रियाअनुसार महाधिवेशन अघि बढाउने दाबी गरे। उनका अनुसार वैधानिक नेतृत्वले असोज १५ गतेदेखि महाधिवेशन प्रक्रिया प्रारम्भ गर्ने तयारी गरेको छ।
उनले आगामी मंसिर २१ देखि २३ गतेसम्म महाधिवेशन सम्पन्न गर्ने गरी तयारी अघि बढाइएको जानकारी दिँदै पार्टीका नेता तथा कार्यकर्तालाई उक्त महाधिवेशन सफल बनाउन सक्रियतापूर्वक लाग्न आग्रह गरे।
पत्रकार सम्मेलनमा कोइरालाले कांग्रेसलाई विधि, विधान, वैधानिकता र एकताको मार्गबाट अघि बढाउनुपर्नेमा जोड दिए। पार्टीभित्र देखिएको विवाद समाधान गर्दै संगठनलाई पुनः सशक्त र जनमुखी बनाउने दाबीसमेत उनले गरे।
यसैबीच, संस्थापन पक्षले भने असोज ३ गतेदेखि वडा अधिवेशनको प्रक्रिया अघि बढाउने निर्णय गरिसकेको छ। सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले असोज ३ गतेको वडा अधिवेशनमा सहभागी हुने नेता तथा कार्यकर्तालाई केन्द्रीय समितिमा समेट्ने निर्णय गरेको थियो।
संस्थापन पक्षको उक्त निर्णयपछि कांग्रेसभित्र महाधिवेशनको वैधानिकता, नेतृत्व र अधिवेशन प्रक्रियालाई लिएर दुई धारबीचको विवाद थप सतहमा आएको छ। एक पक्षले असोज ३ बाट प्रक्रिया अघि बढाउने तयारी गरिरहेका बेला अर्को पक्षले त्यसलाई अस्वीकार गर्दै वैधानिक नेतृत्वमार्फत असोज १५ बाट महाधिवेशन प्रक्रिया अघि बढाउने अडान लिएको हो।
कांग्रेसभित्रको यो विवादसँगै १५औँ महाधिवेशनको प्रक्रिया कुन संरचना र नेतृत्वको आधारमा अघि बढ्छ भन्ने विषय थप पेचिलो बनेको छ।















