भक्तपुर । भोटेकोशी बाढी तथा प्राकृतिक विपद्मा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ तथा बेपत्ता भएकाहरूको सकुशल फिर्ताको कामना गर्दै भक्तपुरमा दीप प्रज्वलन कार्यक्रम आयोजना गरिएको छ ।
शहीद राधेश्याम जोन्छे प्रतिष्ठानको आयोजनामा भएको दीप प्रज्वलन कार्यक्रममा विपद्मा परी ज्यान गुमाउनेहरूको आत्माको चिरशान्तिको कामना गरिएको थियो ।
प्रतिष्ठानका कार्यवाहक अध्यक्ष बाबुराजा जोशीको नेतृत्वमा आयोजित कार्यक्रममा नेपाली काँग्रेस भक्तपुर जिल्ला कमिटीका सभापति दुर्लभ थापालगायत विभिन्न क्षेत्रका महानुभावहरूको उपस्थिति रहेको थियो ।
भक्तपुरको गहिटीस्थित लक्ष्मी नरसिंह मन्दिर अगाडि दीप प्रज्वलन गर्दै विपद्मा ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको हो । कार्यक्रममा शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ र हराइरहेकाहरूको सकुशल फिर्ताको कामना गरिएको थियो ।
कार्यक्रममा सहभागीहरूले प्राकृतिक विपद्का कारण प्रभावित परिवारलाई आवश्यक सहयोग तथा राज्यका तर्फबाट उद्धार, राहत र पुनःस्थापनाका कार्यलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए ।
ती दिवंगत आत्माहरूप्रति हार्दिक श्रद्धाञ्जली ।
शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना ।















