भक्तपुर।
सूर्यविनायक नगरपालिका–९, भक्तपुरस्थित मदरल्याण्ड स्कुलले एसईई २०८२ मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान तथा बिदाइ कार्यक्रम आयोजना गर्दै ४.०० जिपिए ल्याउने छात्रा रोहिणी शिल्पकारलाई नगदसहित सम्मान गरेको छ।
विद्यालयले एसईईमा उत्कृष्ट सफलता हासिल गरेकी रोहिणी शिल्पकारलाई रु. ५० हजार नगद पुरस्कारसहित सम्मान गरेको हो। विद्यालय परिसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि तथा सूर्यविनायक नगरपालिका शिक्षा शाखा प्रमुख रत्नबहादुर कटवालले छात्रा शिल्पकारलाई सम्मानपत्र प्रदान गर्नुभयो।
विद्यालयकी कार्यकारी निर्देशक शर्मिला देउजाले रोहिणीलाई रु. ५० हजार नगद पुरस्कार हस्तान्तरण गर्दै उज्ज्वल शैक्षिक भविष्यका लागि शुभकामना व्यक्त गर्नुभयो। साथै, उत्कृष्ट प्रदर्शन गरेकी अर्की छात्रा सरिना लामालाई रु. १० हजार नगद पुरस्कार प्रदान गरिएको विद्यालयले जनाएको छ।
त्यसैगरी, सत्यशक्ति पुस्तक भण्डारका महेश थापा तथा विद्यालयका सह–प्राचार्य राधेश्याम केसीले पनि रोहिणी शिल्पकारलाई जनही रु. ५ हजारका दरले नगद पुरस्कार प्रदान गरी हौसला बढाउनुभएको थियो।
कार्यक्रममा विद्यालयका प्राचार्य सञ्जय खड्काले विद्यार्थीको सफलतामा विद्यार्थीको निरन्तर मेहनत, शिक्षकको समर्पण र अभिभावकको साथ समान रूपमा महत्वपूर्ण रहने बताउनुभयो। उहाँले गुणस्तरीय शिक्षामार्फत आगामी दिनमा पनि उत्कृष्ट नतिजालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा एसईई उत्तीर्ण सबै विद्यार्थीलाई सम्मान तथा बिदाइ गरिएको थियो। साथै, विद्यार्थीको सफलताका लागि निरन्तर खटिएका शिक्षकहरूलाई प्रशंसापत्र प्रदान गरी सम्मान गरिएको विद्यालयले जनाएको छ।
विद्यालयले यस वर्षको एसईई नतिजालाई गौरवपूर्ण उपलब्धिका रूपमा लिँदै आगामी दिनमा विद्यार्थीको क्षमता विकास, गुणस्तरीय शिक्षा तथा शैक्षिक उत्कृष्टतालाई अझ प्राथमिकतामा राख्ने जनाएको छ।













