भक्तपुर–१ नेमकिपाको वर्चस्वलाई चुनौती 

0
भक्तपुर । भक्तपुर निर्वाचन क्षेत्र नं. १ मा लामो समयदेखि निरन्तर चुनाव जित्दै आएको नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का लागि यस पटकको प्रतिनिधि सभा निर्वाचन चुनौतीपूर्ण बन्ने देखिएको छ। आगामी फागुन २१ गते हुने निर्वाचनमा यस क्षेत्रमा १६ राजनीतिक दल र ९ स्वतन्त्र उम्मेदवारसहित कुल २५ जना प्रतिस्पर्धी रहेका छन्।
२०४८ सालदेखि नेमकिपाले लगातार जीत हासिल गर्दै आएको यस क्षेत्रमा यस पटक विभिन्न दल र स्वतन्त्र उम्मेदवारले पार्टीको वर्चस्वलाई चुनौती दिइरहेका छन्। भक्तपुर–१ मा २०४८ देखि २०७० सम्म पाँच निर्वाचनमा नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छे विजयी भएका थिए। त्यसपछिका २०७४ र २०७९ को निर्वाचनमा पार्टीका नेता प्रेम सुवाल निर्वाचित भएका थिए।
यस पटक पनि नेमकिपाले प्रेम सुवाललाई उम्मेदवार बनाएको छ। उनका मुख्य प्रतिस्पर्धीहरूमा नेपाली काँग्रेसका किरण न्यौपाने, नेकपा (एमाले) का सोमप्रसाद मिश्र, नेपाली कम्युनिस्ट पार्टीका हरिराम लवजु, राष्ट्रिय प्रजातन्त्र पार्टीका भरतबहादुर खड्का, राष्ट्रिय जनमोर्चाका ईश्वरीप्रसाद पैयानी, राष्ट्रिय स्वतन्त्र पार्टीका रुकेश रञ्जित रहेका छन्।
त्यस्तै, प्रगतिशील लोकतान्त्रिक पार्टीका रवि खाइजू, नेकपा (माओवादी) का चन्द्रमान कोजू, नेकपा (संयुक्त) का दामोदर काफ्ले, नेपालका लागि नेपाली पार्टीका दीपककुमार पोखरेल र आमजनता पार्टीका देवेन्द्र ठाकुर समेत उम्मेदवार रहेका छन्।
भौगोलिक र राजनीतिक अवस्था
भक्तपुर–१ अन्तर्गत भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिकाका सबै वडाहरू पर्दछन्। भक्तपुर नगरपालिका नेमकिपाको बलियो आधार मानिन्छ। २०७९ सालको स्थानीय तह निर्वाचनमा यहाँका प्रमुख, उपप्रमुखसहित सबै १० वडा नेमकिपाले जितेको थियो।
तर चाँगुनारायण नगरपालिकामा राजनीतिक समीकरण फरक देखिन्छ। त्यहाँ नेमकिपाले केवल वडा नं. ९ को वडाध्यक्ष जित्दा, अन्य वडामा नेपाली काँग्रेस, नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार विजयी भएका थिए।
२०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा नेमकिपाका प्रेम सुवालले ४२,७६१ मत प्राप्त गर्दै विजयी भएका थिए। उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का नवराज गेलालले ११,९६८ मत प्राप्त गरेका थिए। सुवालको मतान्तर ३०,७९३ मत रहेको थियो। त्यसै गरी, राप्रपाका भरतबहादुर खड्काले ९,३०३ मत, नेकपा माओवादी केन्द्रका सुनिल गोठेले ५,२८३ मत प्राप्त गरेका थिए।
अघिल्लो निर्वाचनमा नेपाली काँग्रेसको उम्मेदवार नहुँदा मतान्तर ठुलो देखिएको थियो । तर यो पटकको निर्वाचनमा गठबन्धन समेत नभएको र भक्तपुर क्षेत्र नम्बर १ मा आफ्नो राम्रो प्रभाव भएका नेपाली काँग्रेसबाट अधिवक्ता किरण न्यौपाने र नेकपा एमालेले चाँगुनारायणका पूर्व मेयर सोम प्रसाद मिश्र नै प्रतिस्पर्धामा रहेका कारण उनीहरूको लोकप्रियताका कारण पनि नेमकिपाको भोट धेरै नै काटिने देखिन्छ । यसका साथै अघिल्लो निर्वाचनमा भक्तपुर जिल्लामा ११ हजार भन्दा माथि समानुपातिक भोट ल्याएको रास्वपा समेत प्रतिस्पर्धामा रहेका कारण पनि यो पटकको निर्वाचन आफ्नो लामो विरासत राख्दै आएको नेमकिपाका लागि फलामको चिउरा नै हुने देखिएको छ ।
नेपाली काँग्रेस र नेकपा एमालेले जहिले पनि कमजोर उम्मेदवार दिँदै आएको यस क्षेत्रमा यो पटक भने राम्रा र प्रभावशाली उम्मेदवार दिँदा भक्तपुर क्षेत्र नम्बर १ को नेमकिपाको विरासतमा ठुलो धक्का लाग्ने देखिन्छ ।