गुल्मीमा निर्वाचन प्रहरी भर्नाको म्याद दुई दिन थप

16

गुल्मी आगामी फागुन २१ गते सम्पन्न हुन लागेको प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि आह्वान भएको निर्वाचन प्रहरीको भर्ना गुल्मीमा म्याद दुई दिन थप गरिएको छ । गत पुस २५ गतेदेखि माघ १ गतेसम्म निर्वाचन प्रहरी भर्ना आवेदन दिने समय तोकिएको थियो । यस जिल्लालाई आवश्यक पर्ने निर्वाचन प्रहरी सङ्ख्याको तुलनामा आवेदन कम परेको हुँदा गृह मन्त्रालयको निर्देशानुसार दरखास्त दिने अवधि दुई दिन थप गरी दरखास्त दिने अन्तिम म्याद माघ ३ गते शनिबारसम्म कायम गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक पर्वतकुमार केसीले जानकारी दिनुभयो ।

प्रहरी निरीक्षक केसीका अनुसार बिहीबार दिउँसोसम्म निर्वाचन प्रहरीका लागि नेपाल प्रहरीतर्फ एक हजार १२८ जना र सशस्त्र प्रहरी बल नेपालतर्फ १३१ जनाले आवेदन दिनुभएको छ । यस जिल्लामा नेपाल प्रहरीतर्फ एक हजार ६९५ जना र सशस्त्र प्रहरी बल नेपाल तर्फ १७९ जना निर्वाचन प्रहरी भर्ना गरिँदै छ । प्रतिनिधिसभा निर्वाचनको लागि स्वीकृत “निर्वाचन प्रहरी भर्ना छनौट, नियुक्ती तथा परीचालनसम्बन्धी एकीकृत (नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपाल) कार्यविधी–२०८२ अनुसार निर्वाचन प्रहरी भर्ना आवेदन चलिरहेको छ ।

जिल्ला प्रहरी कार्यालय गुल्मी, इलाका प्रहरी कार्यालय रिडी, इलाका प्रहरी कार्यालय पुर्कोटदह र सशस्त्र प्रहरी बल नपाल नम्बर ३७ गुल्म हे. क्वा. गुल्मीमा १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेकाका नेपाली नागरिकले आवेदन दिन पाइनेछ ।

निर्वाचन प्रहरी हुनका लागि साधारण लेखपढ गर्न जान्ने, नैतिक पतन देखिने कुनै फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, भर्ना हुने समयमा कुनै राजनीतिक दलको सदस्य नरहेको हुनुपर्नेछ । त्यस्तै शारीरिक तथा मानसिक रुपले स्वस्थ रहेको, आतङ्ककारी एवम् विध्वंसात्मक संगठनको सदस्य नरहेको, पुरुषको हकमा घटीमा उचाई ५ फिट, छाती ३१–३३, तौल ५० के.जी. र महिलाको हकमा घटीमा उचाई ४ फिट १० इन्च, तौल ४२ के.जी. भएको, महिलाको हकमा गर्भवती नभएको/नरहेको हुनुपर्नेछ ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपालबाट सेवा निवृत्त पूर्वसुरक्षाकर्मी वा पूर्ववन रक्षकलाई प्राथमिकता दिइने छ । अघिल्ला प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका निर्वाचनमा म्यादी प्रहरीका रुपमा भर्ना भई सन्तोषजनक काम गरेका व्यक्ति तथा विदेशी मित्रराष्ट्रका सुरक्षा निकायमा काम गरी सेवा निवृत्त भएका नेपाली नागरिकलाई पनि प्राथमिकतामा राखिएको छ ।

दुई निर्वाचन क्षेत्र रहेको यस जिल्लामा दुई लाख २९ हजार ५४९ जना मतदाता कायम रहेको छ । उहाँका अनुसार महिला एक लाख १५ हजार २१० जना, पुरुष एक लाख १४ हजार ३३७ जना र अन्य दुई जना मतदाता रहेका छन् । हालसम्म यस जिल्लामा १४५ मतदान स्थल र २८४ मतदान केन्द्र कायम गरिएको छ । २०७९ सालमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा यस जिल्लामा १४ सय ६० म्यादी प्रहरी भर्ना गरिएको थियो । जसमा ११ सय ३२ पुरुष र ३२८ महिला रहेका थिए ।