चाडपर्वले आपसी सहिष्णुता र सद्भावलाई सुदृढ बनाउँछः प्रदेश प्रमुख देवकोटा

0

मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले चाडपर्वहरूले आपसी सहिष्णुता र सद्भावलाई सुदृढ बनाउने बताउनुभएको छ ।

क्रिसमस २०८२ को अवसरमा बिहीबार एक शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख देवकोटाले हाम्रा चाडपर्वहरूले आपसी सहिष्णुता र सद्भावलाई थप सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका खेल्दै आएको बताउनुभएको हो । क्रिसमस पर्वले मानव मात्रलाई एकताबद्ध बनाउने पवित्र सन्देश बोकेको उहाँको भनाइ छ ।

प्रेम, त्याग, सहनशीलता र मानवताका मूल्यहरूका प्रतीक येशू ख्रीष्टको जन्मोत्सवका रूपमा मनाइने क्रिसमस पर्वले मानव जीवनलाई नैतिकता, सद्भाव र सहअस्तित्वको मार्गतर्फ उन्मुख गराउने सन्देश प्रवाह गर्दछ उहाँले शुभकामना सन्देशमा भन्नुभएको छ, यस पर्वले धर्म, जाति, भूगोल र संस्कृतिभन्दा माथि उठेर मानव मात्रलाई एकताबद्ध बनाउने पवित्र सन्देश बोकेको छ ।

नेपाल एक बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसाँस्कृतिक विशेषतायुक्त देश भएकको भन्दै उहाँले हाम्रा चाडपर्वहरूले आपसी सहिष्णुता र सद्भावलाई थप सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका खेल्दै आएको बताउनुभएको छ ।

क्रिसमस २०८२ ले देशमा सम्वाद र सहकार्यको माध्यममार्फत शान्ति, स्थायित्व र दिगो विकासमा योगदान पु¥याउने उहाँले शुभकामना सन्देशमार्फत विश्वास व्यक्त गर्नुभएको छ ।

धर्मनिरपेक्षतालाई आत्मसात गरेर राष्ट्रिय एकतालाई थप सुदृढ बनाएको भन्दै प्रदेश प्रमुख देवकोटाले क्रिसमस पर्व समाजमा विद्यमान असमानता, द्वन्द्व र निराशालाई हटाउँदै प्रेम, आशा र सकारात्मक सोंचको उज्यालो फैलाउन प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।

क्रिसमस २०८२ को उल्लासमय अवसरमा बागमती प्रदेश तथा देश विदेशमा रहनुहुने कृश्चियन धर्मावलम्बीलगायत सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा सुस्वास्थ्य, दीर्घायु र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दै शुभकामना सन्देशमा यस पर्वबाट प्राप्त प्रेरणाले हामी सबैलाई कर्तव्यनिष्ठ, जिम्मेवार र उत्साहित बनाइ समृद्ध देश निर्माणतर्फ अग्रसर गराउने अपेक्षा राखेको उल्लेख गर्नुभएको छ ।