मकवानपुरमा चट्याङले १४ वर्षीय बालकको मृत्यु, एक घाइते

वर्षासँगै परेको चट्याङले घर र जनजीवनमा असर

3

हेटौंडा — मकवानपुर जिल्लामा चट्याङ लागेर एक बालकको ज्यान गएको छ भने एक व्यक्ति घाइते भएका छन्। वर्षासँगै परेको चट्याङले स्थानीय एक घरमा समेत क्षति पुर्‍याएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार कैलाश गाउँपालिका–९ थामलेकका १४ वर्षीय कान्छा गोलेको चट्याङ लागेर मृत्यु भएको हो।
घटना गोले आफ्नै घर बाहिर खाटमा बसिरहेका बेला चट्याङ खस्दा भएको हो। घटनास्थलमै उनको निधन भएको प्रहरीले जनाएको छ।

यसैबीच, बागमती गाउँपालिका–२ देउरालीका ३२ वर्षीय कृष्णबहादुर श्रेष्ठ चट्याङ लागेर घाइते भएका छन्। उनी घरमै बसिरहेका बेला चट्याङ परेको थियो। हाल उनको उपचार राईगाउँ स्वास्थ्य चौकीमा भइरहेको छ।

चट्याङका कारण स्थानीय कमलजङ्ग रानामगरको घरमा पनि क्षति पुगेको प्रहरीले जनाएको छ।
प्राकृतिक प्रकोपबाट सुरक्षित रहन र सावधानी अपनाउन प्रहरीले सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ।