होमियोप्याथिक सेवा सुरु गरेसँगै एलोपेथिक, आयुर्वेद र होमियोप्याथिक स्वास्थ्य सेवा एकै ठाउँमा

2

भक्तपुर — भक्तपुरको मध्यपुर थिमि नगरपालिका देशकै पहिलो यस्तो स्थानीय तह बनेको छ, जहाँ एलोपेथिक, आयुर्वेद र होमियोप्याथिक — तीन वटै स्वास्थ्य सेवा एकैसाथ प्रदान गरिँदैछ।

नगरपालिकाले वडा नं. ७, नगदेशमा होमियोप्याथिक स्वास्थ्य सेवा केन्द्र स्थापना गरी बिहीवारदेखि सेवा सञ्चालनमा ल्याएको हो। यससँगै नगरले तीन वटै प्रणालीमा आधारित स्वास्थ्य सेवा दिने देशकै पहिलो पालिकाको रूपमा नयाँ इतिहास रचेको छ।

नगरप्रमुख सुरेन्द्र श्रेष्ठका अनुसार नगरवासीलाई “घरदैलोमै निःशुल्क, सहज र गुणस्तरीय” सेवा दिने नीति अनुरूप होमियोप्याथिक सेवा सुरु गरिएको हो।


मध्यपुर थिमि नगरपालिकाले पहिलेबाटै नगरका सबै ९ वटै वडामा स्वास्थ्य चौकी र शहरी स्वास्थ्य केन्द्रमार्फत एलोपेथिक सेवा, नेपाल-कोरिया मैत्री नगरपालिका अस्पतालमार्फत विशेषज्ञ सेवा, र मध्यपुर आयुर्वेद औषधालयमार्फत आयुर्वेदिक सेवा दिँदै आएको थियो।

अब होमियोप्याथिक सेवा पनि थपिएपछि, तीनै सेवा प्रणालीको विकल्प नगरबासीको पहुँचमा आएको छ।


नवस्थापित होमियोप्याथिक केन्द्रमा हाल २ जना चिकित्सक, १ जना नर्स, १ जना कार्यालय सहयोगी खटिएका छन्।

नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख श्रीकृष्ण प्रजापतिका अनुसार चिकित्सकहरू पालोपालो गरेर प्रतिदिन ४ घण्टा सेवा दिनेछन्। सबै सेवा पूर्णरूपमा निःशुल्क रहने छ।


डा. रामहरी श्रेष्ठका अनुसार केन्द्रमा बाथ, हाडजोर्नी दुखाइ, युरिक एसिड, नसा सम्बन्धी रोग प्यारालाइसिस, मृगौला र पित्तथैलीको पत्थरी पाइल्स, फिस्टुला, ट्युमर, सिस्ट, दाद-पोत, छाला रोगहरू टाउको दुखाई, माइग्रेन, नाक-कान-घाँटी रोग, ग्याष्ट्रिक, कब्जियत महिनावारी समस्या, सेतो पानी बग्ने, यौन रोग, प्रोस्टेट, पिसाब पोल्ने समस्या दम, उच्च रक्तचाप, मधुमेह, डिप्रेशन, मोटोपनालगायत रोगहरूको उपचार हुने छ:


नगर उपप्रमुख विजयकृष्ण श्रेष्ठले होमियोप्याथिक सेवा एक प्रभावकारी वैकल्पिक उपचार प्रणाली भएको उल्लेख गर्दै यसले नगरवासीको स्वास्थ्यमा दीर्घकालीन प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो।

वडा नं. ७ का अध्यक्ष कृष्णकुमार प्रजापतिले सामाजिक रूपान्तरणको आधार स्वस्थ नागरिक भएकाले स्वास्थ्य सेवा उच्च प्राथमिकतामा राखिएको बताए।

सामाजिक विकास महाशाखा प्रमुख ज्ञानेन्द्र प्रसाद भट्टका अनुसार सन् १७९६ मा जर्मनीबाट सुरु भई नेपालमा वि.सं. २०१० मा प्रवेश पाएको होमियोप्याथिक चिकित्सा थोरै औषधिमा प्रभावकारी उपचार दिने, साइड इफेक्ट नभएको प्रणाली भएकाले यसको सुरुआतमा नगरपालिकाले जोड दिएको हो।