भक्तपुर — सूर्यविनायक नगरपालिकाको प्रायोजनमा सूर्यविनायक नगर सितोरियो कराँते सङ्घको आयोजनामा बागमती प्रदेश व्यापी कराँते प्रतियोगिता आयोजना गरिने भएको छ। कराँते खेलको विकास तथा नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ प्रतियोगिता जेठ ९ र १० गते सञ्चालन हुने आयोजकले जानकारी दिएको छ।
भक्तपुर जिल्ला सितोरियो कराँते सङ्घका वरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक रामशरण त्वातीका अनुसार प्रतियोगिता सूर्यविनायक नगरपालिका–९ स्थित सेराटन ब्याङ्क्वेटमा सम्पन्न हुनेछ। प्रतियोगितामा बागमती प्रदेशका विभिन्न डोजोबाट ५ सयभन्दा बढी महिला र पुरुष खेलाडीको सहभागिता रहनेछ।
प्रतियोगिता विभिन्न तौल समूहमा हुने जनाइएको छ। पुरुषतर्फ ३५ केजीदेखि ६७ केजीभन्दा माथिसम्म र महिलातर्फ ३५ केजीदेखि ६१ केजीसम्मका खेलाडी सहभागी हुनेछन्। काता, टिम काता तथा फाइटिङ गरी कुल १५ विधामा प्रतिस्पर्धा गराइनेछ।
खेल वर्ल्ड कराँते फेडेरेसन (WKF), एसियन कराँते फेडेरेसन (AKF) तथा नेपाल कराँते फेडेरेसन (NKF) को नियमअनुसार सञ्चालन गरिने संयोजक त्वातीले जानकारी दिए।