काठमांडौ । आज र भोलि देशभरका २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै छ । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत ६ महिना देखि ५ वर्ष उमेरसम्मका बालबालिकालाई भिटामिन ‘ए’ तथा एक देखि पाँच वर्ष सम्मका बालबालिकालाई जुका मार्ने औषधि खुवाउन लागिएको हो ।
आफ्नो घर नजिकको खोप केन्द्रमा लगेर बालबालिकाहरुलाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सकिन्छ ।
यसपटक ६ महिनादेखि ५९ महिनाका झन्डै २२ लाख बालबालिकालाई भिटामिन खुवाइदै छ । त्यस्तै एक वर्षदेखि पाँच वर्षसम्मका झन्डै १९ लाख बालबालिकालाई जुकाको औषधि खुवाउन लागिएको छ । त्यस्तै बालबालिकामा कुपोषणको परीक्षण गरिनेछ भने बालभिटासमेत दिइनेछ ।
‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ मा झन्डै ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १५ हजार स्वास्थ्यकर्मी परिचालन हुँदैछन् ।
सरकारले भिटामिन ‘ए’ कमीको रोकथाम तथा उपचारको लागि २०५० सालमा आठ जिल्लाबाट शुरू भएको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम २०५९ देखि देशभरि नै लागू गरिएको हो ।
जुका नियन्त्रण तथा रोकथामको लागि २०५६ सालदेखि १३ जिल्लाबाट शुरू गरिएको जुकाको औषधि खुवाउने कार्यक्रम २०६७ देखि सबै जिल्लामा लागू गरिएको छ ।
यस्तै २०६४ सालदेखि बालभिटा खुवाइने गरेको छ । हरेक वर्ष कात्तिक र वैशाखमा भिटामिन ‘ए’ र जुकाको औषधि बालबालिकालाई निःशुल्क खुवाउने व्यवस्था सरकारले गर्दै आएको छ ।