सन्जिब दुलाल
भक्तपुर । स्थानीय तहका जनप्रतिनिधि तथा आर्थिक प्रशासन शाखा प्रमुखलाई लक्षित गरी बागमती प्रदेश सुशासन केन्द्रले भक्तपुरमा दुई दिने सार्वजनिक खरिद व्यवस्थापन अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा बागमती प्रदेशका रसुवा, नुवाकोट, भक्तपुर र ललितपुरका २३ स्थानीय तह का प्रमुख, अध्यक्ष तथा आर्थिक प्रशासन शाखाका प्रमुखहरूको सहभागिता रहेको थियो। सार्वजनिक खरिद प्रक्रियामा देखिने विभिन्न समस्याको समाधान तथा खरिद प्रक्रिया थप व्यवस्थित र पारदर्शी बनाउन अभिमुखीकरण गरिएको प्रदेश सुशासन केन्द्रले जनाएको छ।
सार्वजनिक खरिद व्यवस्थापनमा कानुनी एवं प्राविधिक प्रशिक्षण
प्रदेश सुशासन केन्द्रका कार्यकारी निर्देशक गोपालकृष्ण न्यौपाने का अनुसार सार्वजनिक खरिद अनुगमन कार्यालय को समन्वयमा तयार गरिएको पाठ्यक्रमअनुसार स्थानीय तहका प्रतिनिधिहरूलाई खरिद प्रक्रियामा अपनाउनुपर्ने कानुनी सावधानीका विषयमा जानकारी दिइएको हो।
कार्यक्रममा सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव मुकुन्द प्रसाद निरौलाले सार्वजनिक खरिदका कानुनी एवं संस्थागत व्यवस्थाका विषयमा प्रशिक्षण दिएका थिए। यस्तै, सहसचिव रामचन्द्र दंगालले बोलपत्र (टेंडर) सम्बन्धी कागजात तयारी र प्रक्रियाका विषयमा प्रशिक्षण दिए।
पूर्वसचिव तथा विज्ञ मणिराम गेलले बोलपत्र मूल्यांकन, करार सम्झौता व्यवस्थापन, कालोसूचीकरण तथा उपभोक्ता समितिको भूमिकाबारे विस्तृत जानकारी गराएका थिए। साथै, प्रादेशिक लेखा परीक्षण महानिर्देशनालय बागमतीका ताराप्रसाद पाण्डेले स्थानीय तहको लेखा परीक्षण, बेरुजु व्यवस्थापन तथा सम्परीक्षणका विषयमा प्रशिक्षण दिए।
मुख्यमन्त्री लामाको भनाइ: खरिद प्रक्रियामा पारदर्शिता आवश्यक
बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले स्थानीय निकायमा सार्वजनिक खरिद प्रक्रियामा देखिएको अस्पष्टता हटाउन प्रदेश सरकारले यस्ता अभिमुखीकरण कार्यक्रमहरू सबै स्थानीय तहमा विस्तार गर्ने बताए।
“स्थानिय तहमा खरिद प्रक्रियाबारे स्पष्ट ज्ञान नहुँदा बेरुजु बढ्ने समस्या देखिएको छ। यस्ता प्रशिक्षणले सुशासन प्रवर्द्धन गर्न मद्दत गर्छ। खरिद प्रक्रियामा पारदर्शिता ल्याउन प्रदेश सरकार निरन्तर लागि पर्नेछ,” मुख्यमन्त्री लामाले भने।
त्यस्तै, चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले एकै आर्थिक वर्षमा पटक–पटक एउटै प्रकारका वस्तु तथा सेवा खरिद गर्दा ऐन अनुसार ‘टुक्रे खरिद’ मानिने भएकाले महालेखाले बेरुजु देखाउने गरेको बताए। उनले यस्तो समस्या समाधान गर्न नीतिगत स्पष्टता आवश्यक रहेको धारणा राखे।
२३ पालिकाका जनप्रतिनिधिहरूको सहभागिता
अभिमुखीकरणमा रसुवाका ५, नुवाकोटका १२, भक्तपुरका ४, र ललितपुरका ३ गाउँपालिका गरी २३ स्थानीय तहका प्रमुख तथा आर्थिक प्रशासन शाखा प्रमुखहरू सहभागी थिए।
कार्यक्रममा बागमती प्रदेशसभा सदस्य सुरेश श्रेष्ठ, प्रदेश सचिव रितेश कुमार शाक्य लगायत अन्य अधिकारीहरूको उपस्थिति रहेको थियो।