धनकुटा । पूर्वी पहाडको शान्त वातावरण, हरियालीले ढाकिएका डाँडाकाँडा र मौलिक संस्कृतिको मिठास—धनकुटाको स्याउलेमा यी तीनै पक्षको सुन्दर संगम भेटिन्छ । धनकुटा नगरपालिका–३ स्थित स्याउले पुग्ने पर्यटकले यहाँ केवल प्राकृतिक सौन्दर्यको आनन्द मात्र लिँदैनन्, स्थानीय समुदायको जीवनशैली, परम्परा र सांस्कृतिक पहिचानलाई नजिकबाट अनुभव गर्ने अवसरसमेत पाउँछन् ।
यही सम्भावनालाई पर्यटनसँग जोड्ने उद्देश्यले आठपहरिया समुदायले सञ्चालन गरेको ‘स्याउले सिप्तिङ सामुदायिक घरबास’ अहिले गाउँको मौलिक पहिचानका रूपमा स्थापित हुँदै गएको छ । घरबास पर्यटक बस्ने ठाउँमा मात्र सीमित छैन; यसले आठपहरिया समुदायको संस्कृति, खानपान, रहनसहन, कला र परम्परालाई प्रत्यक्ष अनुभव गर्ने अवसर प्रदान गरिरहेको छ ।
सीमान्तकृत आठपहरिया समुदायको मुख्य बसोबास धनकुटा नगरपालिका क्षेत्रमा रहेको छ । आफूलाई धनकुटाका भूमिपुत्रका रूपमा चिनाउने यो समुदायले चाडपर्व तथा पितृकार्यजस्ता सांस्कृतिक गतिविधि सामूहिक रूपमा मनाउँदै आएको छ । परम्परागत जीवनशैलीमा आएको परिवर्तनसँगै शिक्षा, रोजगारीलगायतका कारण समुदायका सदस्य बाहिर जाने क्रम बढे पनि आफ्नै संस्कृति र पहिचान संरक्षण गर्ने प्रयास भने जारी छ ।
कुनै समय आठपहरिया समुदायमा अरुण र तमोर नदी पार गरेर बाहिर जान हुँदैन भन्ने सामाजिक मान्यता रहेको बताइन्छ । अहिले समय फेरिएको छ । शिक्षा र रोजगारीका अवसर खोज्दै नयाँ पुस्ता गाउँबाहिर पुग्न थालेको छ । यही परिवर्तनका बीच आफ्नो मौलिक संस्कृति र परम्परालाई पर्यटनसँग जोडेर आर्थिक अवसर सिर्जना गर्ने प्रयासले समुदायलाई नयाँ सम्भावनातर्फ अघि बढाएको छ ।
धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङका अनुसार स्याउले घरबासको विशेषता नै स्थानीय संस्कृति र आतिथ्य सत्कार हो । “पाहुनालाई स्वागत गर्ने शैलीदेखि खानपान, रहनसहन र मनोरञ्जनसम्म सबैमा मौलिकताको झल्को पाइन्छ । आगन्तुकलाई रातो टीका र फूलको मालाले स्वागत गरिन्छ, जसले नेपाली आतिथ्य संस्कारको आत्मीयता झल्काउँछ,” उहाँले भन्नुभयो ।
घरबासमा आउने पर्यटकले स्थानीय तथा मौलिक परिकारको स्वाद लिनुका साथै आठपहरिया समुदायको जीवनशैली प्रत्यक्ष बुझ्न पाउँछन् । परम्परागत भान्सादेखि स्थानीय उत्पादनसम्मले गाउँले जीवनको वास्तविक अनुभूति गराउने गरेको नगरप्रमुख तामाङ बताउनुहुन्छ । उहाँका अनुसार स्याउलेको घरबास बस्ने ठाउँभन्दा बढी एउटा जीवित सांस्कृतिक सङ्ग्रहालयका रूपमा विकास हुँदै गएको छ ।
यात्राको अनुभवलाई प्रकृतिसँग जोड्न यहाँ विभिन्न गतिविधिसमेत सञ्चालन गरिन्छ । यामअनुसार पर्यटकलाई सुन्तला बगैँचामा फल टिप्ने, मौरीपालनबारे जानकारी लिने तथा स्थानीय बीउबिजन र कृषि प्रणालीबारे बुझ्ने अवसर दिइन्छ । साँझपख आयोजना हुने ढोल नाच, लोकगीत तथा परम्परागत नृत्यले पर्यटकलाई आठपहरिया संस्कृतिको मौलिक स्वादसँग अझ नजिक पुर्याउने गरेको छ ।
घरबासका अध्यक्ष हिराबहादुर आठपहरियाका अनुसार एकपटकमा करिब १७ जना पाहुनालाई सेवा दिन सकिने व्यवस्था छ । “हाम्रो प्राथमिकता सङ्ख्या बढाउनु होइन, गुणस्तरीय अनुभव दिनु हो । हामी पर्यटकलाई सेवासँगै हाम्रो पहिचान पनि दिन चाहन्छौँ,” उहाँले भन्नुभयो ।
पर्यटकलाई आठपहरिया समुदायको इतिहास, संस्कार र जीवनशैलीबारे जानकारी गराउनुका साथै कृषि, प्रकृति र संस्कृतिसँग प्रत्यक्ष जोड्ने प्रयास भइरहेको अध्यक्ष आठपहरियाले बताउनुभयो । उहाँका अनुसार आधुनिकताको प्रभावले नयाँ पुस्तामा परम्परागत कला–संस्कृतिप्रतिको आकर्षण घट्दै गए पनि घरबास सञ्चालनले ती मौलिक पक्षलाई पुस्तान्तरण गर्ने महत्वपूर्ण माध्यमको काम गरिरहेको छ ।
संस्कृति संरक्षणसँगै रोजगारी सिर्जना पनि घरबासको अर्को महत्वपूर्ण पक्ष बनेको छ । स्थानीय युवाहरू पर्यटन व्यवस्थापन, पथप्रदर्शन र पाहुना सत्कारमा दक्ष बन्दै गएका छन् । गाउँमै पर्यटनसम्बन्धी रोजगारीको अवसर सिर्जना भएपछि युवाहरूलाई स्थानीय स्तरमै आम्दानी गर्ने बाटो खुलेको छ ।
नगरप्रमुख तामाङका अनुसार नयाँ पुस्तालाई आफ्नै संस्कृति, परम्परा र पहिचानप्रति गर्व गर्ने वातावरण निर्माण गर्न घरबास महत्वपूर्ण माध्यम बन्न सक्छ । आठपहरिया समुदायको संस्कार र संस्कृति संरक्षणका लागि धनकुटा नगरपालिकाले आवश्यक सहयोग र सहकार्यलाई निरन्तरता दिने उहाँले बताउनुभयो ।
विसं २०७८ को जनगणनाअनुसार नेपालमा आठपहरिया समुदायको जनसङ्ख्या ५ हजार ८७८ रहेको छ । धनकुटालाई आठपहरिया समुदायको उद्गमस्थलका रूपमा लिइन्छ । घरबासका माध्यमबाट समुदायले आफ्नो भाषा, गीत, नृत्य, खानपान र संस्कारलाई पर्यटनसँग जोड्दै नयाँ पुस्तासम्म पुर्याउने प्रयास गरिरहेको छ ।
स्याउले सिप्तिङ सामुदायिक घरबासको विकासमा विभिन्न सङ्घसंस्थाको समेत सहयोग रहेको अध्यक्ष आठपहरियाले बताउनुभयो । इन्टरनेशनल सेन्टर फर इन्टिग्रेटेड माउन्टेन डेभलपमेन्ट (इसिमोड) र कम्युनिटी होमस्टे नेटवर्क (सीएचएन)ले घरबासको स्थापना तथा व्यवस्थापनमा सहयोग गरेका छन् । नेपाल पर्यटन बोर्ड तथा संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमको सहकार्यमा सञ्चालित दिगो पर्यटन परियोजनाले पनि क्षमता अभिवृद्धि र पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याएको छ ।
प्रकृति, संस्कृति र समुदायको जीवनशैलीलाई एउटै अनुभवमा जोड्दै गएको स्याउले सिप्तिङ घरबासले धनकुटाको ग्रामीण पर्यटनलाई नयाँ आधार दिएको छ । आठपहरियाको मौलिक संस्कृति जोगाउँदै गाउँमै रोजगारी र आम्दानीको अवसर सिर्जना गर्ने प्रयासले स्याउलेलाई केवल पर्यटकीय गन्तव्य नभई समुदायको पहिचान र आत्मगौरवसँग जोडिएको गन्तव्यका रूपमा स्थापित गर्दै लगेको छ ।















