काठमाडौँ । बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालय अन्तर्गत सञ्चालन हुँदै आएका पर्यटन पूर्वाधार निर्माण सम्बन्धी योजनाहरूमा चैत २५ गतेपछि सम्झौता नहुने भएका छन् ।
मन्त्रालयअन्तर्गतको पर्यटन इकाई कार्यालय काठमाडौँले र पर्यटन इकाई कार्यालय हेटौँडाले चैत २५ पछि कुनै पनि नयाँ योजना सम्झौता नगर्ने निर्णय गरेको हो ।
चालु आर्थिक वर्षको बजेट कार्यान्वयन प्रभावकारी बनाउन र समय सीमाभित्र सम्पन्न हुन नसक्ने योजनाहरूबाट उत्पन्न हुने वित्तीय जोखिम न्यूनीकरण गर्ने उद्देश्यले यस्तो निर्णय गरिएको मन्त्रालयले जानकारी दिएको छ ।
यससँगै चैत २५ गतेसम्म सम्झौता हुन नसकेका योजनाहरूका लागि विनियोजित रकम समेत फिर्ता गरिने प्रक्रिया अघि बढाइने संस्कृति पर्यटन मन्त्रालयका सचिव दीपेन्द्र सुवेदीले जानकारी दिनुभयो ।
तोकिएको समय सीमाभित्र योजना सम्झौता नगर्दा कार्यान्वयनमा ढिलाइ हुने, गुणस्तरमा असर पर्ने तथा बजेट दुरुपयोगको सम्भावना बढ्ने भएकाले कडाइ गरिएको सुवेदीले जानकारी दिनुभयो ।
आर्थिक वर्षको अन्तमा मात्र कार्यक्रमहरू सम्झौता गर्न आउने र छिटो छिटो काम गर्दा निर्माण गुणस्तरमा समेत फितलो पना आउने भन्दै मन्त्रालयले नै नयाँ सम्झौताका लागि समय सीमा तोकेको सचिव सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार २५ गते भित्र सम्झौताका लागि अगाडी बढेका फाइलहरूलाई मात्र कार्यान्वयनका लागि पठाइने छ । अन्य सम्झौता नभएका कार्यक्रमहरुको रकम रकमान्तरण र संचितकोषमा पठाउने उहाँले जानकारी दिनुभयो ।














