अमिन यादवविरुद्ध तीन करोडभन्दा बढी भ्रष्टाचार मुद्दा, श्रीमतीसमेत प्रतिवादीमा

3

काठमाडौँ – उपत्यका विकास प्राधिकरण अन्तर्गत बागमती नगर जग्गा एकीकरण आयोजना, गौरीघाटमा अमिन पदमा कार्यरत दिनेशप्रसाद यादवविरुद्ध तीन करोड २९ लाख ४५ हजार ७०२ रुपैयाँको भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार, २०६३ साल भदौ ८ गतेदेखि २०८१ साल असार ३० गतेसम्मको सेवा अवधिमा यादवको वैध आम्दानी (तलब, भत्ता, कर्जा, फिर्ता रकम आदि) कुल दुई करोड ४२ लाख २० हजार १०३ रुपैयाँ मात्र रहेको तर सो अवधिमा व्यय (घर-जग्गा खरिद, गहना, सवारी, बैँक मौज्दात, शैक्षिक खर्च आदि) भने पाँच करोड ७१ लाख ६६ हजार तीन रुपैयाँ पुगेको देखिएको हो।

त्यसअनुसार, कुल आम्दानी र खर्चको अन्तर तीन करोड २९ लाख ४५ हजार ७०२ रुपैयाँ ऋणात्मक देखिएकाले, उक्त रकम गैरकानुनी रूपमा आर्जन गरिएको पुष्टि भएको आयोगको ठहर छ।

आयोगले थप अनुसन्धानका क्रममा गैरकानुनी रूपमा आर्जन गरिएको सम्पत्ति यादवले आफ्नी श्रीमती अमृता कुमारी यादवको नाममा राखेको पाइएकाले, भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ र अख्तियार ऐन, २०४८ को दफा २९(ख) बमोजिम श्रीमती यादवलाई समेत प्रतिवादी बनाएर विशेष अदालत, काठमाडौँमा मुद्दा दायर गरिएको जानकारी दिएको छ।

आयोगले गैरकानुनी सम्पत्ति जफत गर्न विशेष माग पनि अदालतमा पेश गरेको छ।