भक्तपुर । चाँगुनारायण नगरपालिका र नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाको साझेदारीमा संचालित स्वास्थ्य बुढ्यौलीका लागि सहारा परियोजना अन्तर्गत वडा नम्बर १ को दुवाकोट स्वास्थ्य चौकीमा आयोजित निःशुल्क जेष्ठ नागरिक स्वास्थ्य शिविर सम्पन्न भएकोछ । वडा कार्यालय तथा ज्येष्ठ नागरिक मिलन चौतारी वडा नं १ को समन्वयमा सञ्चालित स्वास्थ्य शिविरमा १०६ जना ज्येष्ठ नागरिकहरुलाई निःशुल्क स्वास्थ्य जाँच संगै औषधि वितरण गरिएको थियो ।
निःशुल्क स्वास्थ्य शिविरमा भक्तपुर अस्पतालका हाड जोर्नी विशेषज्ञ, स्त्री रोग विशेषज्ञ, नाक कान घाँटी विशेषज्ञ र फिजिशियन चिकित्सक, ख्वप तिलगंगा आँखा अस्पतालका आँखा जाँच गर्ने टोली र नगर अस्पतालका चिकित्सक टोलीद्धारा ज्येष्ठ नागरिकहरुको स्वास्थ्य जाँच गरिएको थियो । ७६ जना ज्येष्ठ नागरिकहरुको सुगर टेस्टको पनि गरिएको थियो । उक्त स्वास्थ्य शिविरमा १०६ जना जेष्ठ नागरिकहरूले स्वास्थ्य सेवा लिनुभएको थियो । शिविरबाट पहिचान भएका थप उपचार सेवा आवश्यक ज्येष्ठ नागरिकहरुको लागि स्वास्थ्य संस्थाहरुसंग आवश्यक समन्वय र सहकार्य नगरपालिकाको स्वास्थ्य शाखाले गर्नेछ ।
कार्यक्रमका क्रममा आफ्नो मन्तब्य दिनुहुँदै चांगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले ज्येष्ठ नागरिकहरु जिँउदो इतिहास भएकोले नयाँ पुस्ताले धेरै कुराहरु सिक्न सकिने कुरा बताउनुभयो । नगरपालिकाले ज्येष्ठ नागरिकको स्वास्थ्य, सक्रिय र मर्यादित जीवनयापन गर्न पाउने अधिकारलाई सुनिश्चित गर्न आवश्यक नीति नियमहरु र कार्यविधिहरु निर्माण गर्दै अगाडी बढिरहेको कुरा राख्नु भएको थियो । ज्येष्ठ नागरिक बुवा आमाहरुको स्वास्थ्यलाई ध्यानमा राखी चाँगुनारायण नगरपालिकाले विभिन्न खाले गतिविधिहरु संचालनसंगै नगर अस्पतालको सेवाहरु अझ प्रभावकारी बनाउन नगर अस्पतालको स्तारोंन्ति गर्ने गरि नगरपालिका अगाडी बढिरहेको कुरा पनि जानकारी गराउनु भएको थियो । नगर प्रमुख खत्रीले शिविर संचालनमा नगर अस्पताल, भक्तपुर अस्पताल, ख्वप तिलगंगा आँखा अस्पताल लगायत स्वास्थ्य संस्थाले आवश्यक प्राविधिक सहयोग गर्नुभएकोमा हार्दिक धन्यवाद व्यक्त गर्नुभएको थियो । निःशुल्क स्वास्थ्य शिविरमा पाल्नुभएका सम्पूर्ण ज्येष्ठ नागरिक बुबा आमाहरुलाई सुस्वास्थ्य दिर्घायु जीवनको हार्दिक मंगलमय शुभकामना पनि व्यक्त गर्नु भएको थियो ।
नेपाल रेडक्रस सोसाईटीे भक्तपुरका सभापति परशुराम पाण्डे स्थानीय तहसंग सहकार्य गर्दै समुदायको संकटासन्नता कम गर्ने तथा सामुदायिक विकासमा सदैव अग्रसर नेपाल रेडक्रस सोसाइटी मानवीय सेवा कार्यमा सदैव जनताको साथमा रहेको बताउनुभयो । स्वास्थ्य बुढ्यौली परियोजनालाई अगाडी बढाउन चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले लिनु भएको अग्रसरता देखेर ज्यादै खुशी लागेको बताउनु भएको थियो ।
चाँगुनारायण नगरपालिका वडा नं १ का अध्यक्ष सिजन कार्कीले चाँगुनारायण नगरपालिकाले निःशुल्क रगत तथा अक्सिजन वितरण, विभिन्न औषधीहरु निःशुल्क वितरण, ज्येष्ठ नागरिक परिचय पत्र वितरण, ज्येष्ठ नागरिक समुह गठन, धार्मिक भ्रमण जस्ता विविध कार्यक्रम तथा गतिविधिहरु संचालन गरिरहेको जानकारी दिनुभयो । ज्येष्ठ नागरिकहरुलाई स्वस्थ्य र सक्रिय बनाउने कार्यमा नगरपालिकाले सदैव प्राथमिकता दिई कार्य गर्दै आइरहेको बताउनुभयो ।
चाँगुनारायण नगरपालिकाका नगरप्रमुख जीवन खत्री, नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाका सभापति परशुराम पाण्डे, वडा अध्यक्ष सिजन काकी, पूर्व वडा अध्यक्ष राजेश खड्का तथा वडा सदस्य श्री कृष्ण श्रेष्ठ, स्वास्थ्य शाखा प्रमुख दिलकुमार दुवाल, नगर अस्पतालका मे.सु डा. अर्जुन कार्की, रेडक्रसका जिल्ला सदस्यहरु ऋषि खड्का, सचिता खड्का, नगरपालिकाका विपद् व्यवस्थापन इकाई प्रमुख एवं सहारा परियोजना संयोजक दिनेश थापा, भक्तपुर रेडक्रसकी कार्यालय प्रमुख उमा थापा, वडा सचिव पशुपति गैंडा लगायत नगरपालिका तथा परियोजनाका कर्मचारीहरुले स्वास्थ्य शिविरको अवलोकन गर्नुभएको थियो । शिविर संचालनमा नगर अस्पताल, भक्तपुर अस्पताल, ख्वप तिलगंगा आँखा अस्पताल लगायत स्वास्थ्य संस्थाले आवश्यक प्राविधिक सहयोग गर्नुभएको थियो ।