मिटर व्याजका मुद्दा किनारा लगाउनेमा पर्सा अगाडी

6

वीरगन्ज । अनुचित लेनदेन (मिटर व्याज) ले आफन्त र छरछिमेकमा पानी बाराबार, बोलचाल बन्द र केही हात हालाहालसम्मका घटना हुने गरेका थिए । यसको न्यूनिकरण गर्न राज्य नै अग्रसर हुनु परेको तथ्य छर्लङ्ग छ । मिटर व्याजसम्बन्धी समस्याको किनारा लगाउन सरकारी समन्वयको आवश्यकता राज्यले आफै महसुस ग¥यो । फलतः नीति पनि बन्यो ।

सो नीति अनुसार अहिले मधेश प्रदेशका पनि ८ वटै जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयहरुमा मिटर व्याज सम्बन्धी पीडित र पिडकका फायल खोल्ने र समस्या किनारा लगाउने काम चलिरहेको छ । यसले यी कार्यालयहरुमा एक किसिमको भिड पनि बढेको पाइन्छ ।

अरु प्रदेशभन्दा मधेश प्रदेश तथ्याँकीय आधारमा अनुचित लेनदेनको समस्या बढि भएको प्रदेशका रुपमा पनि देखिएको छ । त्यसैले यो समस्या न्यूनिकरणमा स्थानीय प्रहरी प्रशासन सकृय भएर लागिरहेको पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए । तथ्याकीय आधारमा मिटर व्याजको समस्या न्यूनिकरण गर्न मधेशका ८ जिल्ला मध्ये पर्सा जिल्ला सबैभन्दा अब्बल सावित भएको छ । पीडितका निवेदन मुद्दा आह्वान गरी सुरुको करिब १० महिना जिल्ला प्रशासन कार्यालय मार्फत समस्या न्यूनिकरणको काम भएको थियो ।

२०८० माघ २४ गतेबाट भने जिल्ला प्रहरी कार्यालय मार्फत ती समस्या न्यूनिकरण गर्ने नीति व्यवहारमा आयो । प्रहरी कार्यालयहरु सेवाग्राहीलाई सेवा दिन जुटेका छन् । पर्सा प्रहरीले पनि सो समयदेखि गएको पुस १० गते सम्म १ हजार ३१ मुद्दाको किनारा लगाइसकेको जनाएको छ । परिमाणतः मधेश प्रदेशका सबै जिल्लाहरुको सम्पादित काममा यो संख्या बढि भएको मधेश प्रदेश प्रहरी कार्यालयको तथ्याँकले पुष्टि गरेको छ ।

पर्साको दाँजोमा सबैभन्दा कम मिटरव्याजीको समस्या न्यूनिकरण गर्ने जिल्ला रौतहट दरिएको छ । उसले उक्त अवधिमा जम्मा ५५ वटा मात्र मुद्दा किनारा लगाएको तथ्याँकमा उल्लेख छ ।

तथ्यांक अनुसार स्थिति (पुस १० सम्म):

जिल्ला कुल उजुरी समाधान भएका मुद्दा बाँकी मुद्दा
सप्तरी २,३२८ २०२ २,१२६
सिरहा ३,८४२ १८१ ३,१७०
धनुषा ३,७६० २५६ २,७३३
महोत्तरी २,४१५ ३७३ २,०४२
सर्लाही १,५२३ १३० १,३९३
रौतहट १,५३२ ५५ १,४७७
बारा ३,७३३ ३८३ २,६७२
पर्सा २,२२८ १,०३१ ९५०

पर्सामा न्यूनिकरण गरिएका मिटर व्याजीका मुद्दाको संख्या संभवतः सातै प्रदेशमध्ये सबैभन्दा बढि हुन सक्ने पर्साका प्रहरी उपरिक्षक कुमोद ढुंगेलले बताए । प्रहरी प्रधान कार्यालय काठमाण्डौका प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक विश्व अधिकारीले यो विषयमा ठ्याक्कै एकिन गर्न बाँकी रहेको जनाए ।

पर्सामा भने समिक्षा अवधिसम्म जम्मा २ हजार २ सय २८ वटा मुद्दाको उजुरी परेको पर्साका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक किशोर लम्सालले बताए । पर्सा प्रहरीले किनारा लगाएका मुद्दाबाट कुल २२ करोड २५ लाख १ हजार ४ सय ३२ रुपैया विगो रकम कायम गरिएको पनि उनको भनाइ छ । मेलमिलाप गराएका मुद्दाहरुबाट पीडितको ३३ विघा ११ कठ्ठा, १९ धुर ८ कनवा जग्गा समेत फिर्ता गराइएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक लम्सालले जनाए । जिल्ला प्रशासन कार्यालयबाट प्रहरीका आएका १ हजार ६ सय ६३ र सिधै प्रहरीमा आएका ५ सय ६५ गरी, कुल मुद्दाका उजुरी मध्ये अब पर्सामा टुंग्याउन ९ सय ५० मात्र मुद्दा संख्या बाँकी रहेको पनि पर्सा प्रहरीले जनाएको छ ।

अन्य जिल्ला सहित मधेश प्रदेशमा मात्र गएको पुस १० गतेसम्मको एकमुष्ट संख्या अनुसार १७ हजार ३ सय २३ वटा मिटर व्याजका मुद्दा टुंगाउन अझै बाँकी रहेको तथ्याँकले देखाएको छ । जिल्ला गत रुपमा हेर्ने हो भने सप्तरीमा २ हजार ३ सय २८, सिरहामा ३ हजार १ सय ७०, धनुषामा २ हजार ७ सय ३३, महोत्तरीमा २ हजार ४ सय १५, सर्लाहीमा १ हजार ५ सय २३, रौतहटमा १ हजार ५ सय ३२, बारामा २ हजार ६ सय ७२ र पर्सामा ९ सय ५० मिटरव्याजीका मुद्दा किनारा लगाउन बाँकी रहेको पाइएको छ ।

पर्सामा पुस १० गते यता पनि ६ वटा मुद्दा किनारा लागिसकेको पर्सा प्रहरीले जनाएको छ । यो संख्या सहित पर्सामा कुल १ हजार ३७ मुद्दाको छिनोफानो भइसकेको खुलेको हो । उजुरी किनारा लगाउने क्रममा केही घामट व्यक्तिहरुको कारण मुद्दै दर्ता गर्नु परेको संख्या चाही २८ रहेको पनि खुलेको छ । मिटर व्याजीका पीडकलाई अदालतले पक्राउ अनुमति नदिने हुँदा पनि अपेक्षा गरे जति परिणाम अझ दिन नसकिएको पर्सा प्रहरीको तर्क छ । राजधानी दैनिकबाट