मध्यपुर थिमिमा मध्यपुर महोत्सव सुरु

55

काठमाडौँ । भक्तपुरको ऐतिहासिक नगरी मध्यपुर थिमिमा शुक्रबारदेखि तीनदिने मध्यपुर महोत्सव सुरु भएको छ। “हाम्रो कला हाम्रो संस्कृति, मध्यपुर थिमि हाम्रो सम्पत्ति” नाराका साथ सुरु भएको महोत्सवको उद्घाटन उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले गरे।

महोत्सव मध्यपुर थिमि नगरपालिकाको आयोजनामा विभिन्न स्थानमा सञ्चालन हुँदैछ। उद्घाटन कार्यक्रममा मन्त्री सिंहले मौलिक खाना, कला-संस्कृति, र परम्परागत सीपलाई जगेर्ना गर्दै जीवन्त राख्न महोत्सवले टेवा पुर्‍याउने विश्वास व्यक्त गरे।

महोत्सवका प्रमुख आकर्षणहरूमा सांस्कृतिक प्रस्तुति, स्थानीय पेशा र व्यवसायको प्रदर्शनी, मौलिक उत्पादन, हस्तकला, र माटोका भाँडाहरूको प्रदर्शनी छन्। नगरपालिकाका प्रमुख तथा महोत्सव मूल समारोह समितिका संयोजक सुरेन्द्र श्रेष्ठका अनुसार महोत्सवले मध्यपुरथिमिको मौलिक पहिचान झल्काउने छ।

थिमि शंखधरचोकदेखि नगदेश, बोडे हुँदै तिगनीको नीलवाराहीसम्मका ऐतिहासिक बस्तीहरू प्रदर्शनी स्थलका रूपमा प्रस्तुत गरिएका छन्। महोत्सवका क्रममा करिब ४ सय स्टल राखिएका छन्, जसले स्थानीय उत्पादन र संस्कृतिलाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ।