पक्राउ परेकै दिन धरौटीमा छुटे भारतीय अभिनेता ‘अल्लु अर्जुन’

1

भारतीय अभिनेता अल्लु अर्जुन पक्राउ परेको केही घण्टामै धरौटीमा रिहा भएका छन् । तेलंगानाको उच्च अदालतले उनलाई ५० हजार भारु जमानतमा रिहा गरेको हो ।

चलचित्रको विशेष प्रदर्शनका क्रममा उपस्थित भएका समय भएको भागदौडमा एक महिलाको मृत्यु भएको घटनालाई लिएर  उनलाई प्रहरीले पक्राउ गरेको हो ।

यसै महिना भारतका दक्षिणी सहर हैदरावादको एक सिनेमा हलमा अभिनेता अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को विशेष प्रदर्शन (स्क्रिनिङ) का लागि उनी पुग्दा भागदौड भएको थियो । जसमा एक महिलाले ज्यान गुमाएकी थिइन् । सोही घटनामा उनी पक्राउ परेका हुन् ।   सो  घटनामा संलग्न अन्य सातजना यसअघि नै पक्राउ परिसकेका छन् । आफ्नो छोरासँग सो कार्यक्रममा सहभागी भएकी ३० वर्षीया एक महिलाको डिसेम्बर ४ मा भएको भागदौडमा परी मृत्यु भएको थियो ।

महिलाका परिवारले अर्जुन, उहाँको सुरक्षा टोली र सिनेमा हल व्यवस्थापनविरुद्ध उजुरी दर्ता गराएका थिए । अर्जुनले दुर्घटना भएको दुई दिनपछि घटनाबारे सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै घटनाबाट आफू निकै मर्माहत भएको भन्दै आर्थिक सहायता दिने घोषणासमेत गरिसकेका छन्।

उनले एक्समा लेखेका छन्, ‘परिवार दुःखी हुने अवस्थालाई सम्मान गर्दै म उनीहरूलाई यो चुनौतीपूर्ण यात्राबाट फर्कन मद्दत गर्न हरसम्भव सहयोग गर्न प्रतिबद्ध छु।’
अर्जुनको दक्षिण भारतमा निकै लोकप्रिय अभिनेताका रूपमा स्थान छ र ‘पुष्प फिल्म फ्रेन्चाइज’ले बक्स अफिसमा करोडौँ कमाएको छ ।

उनले दुई वर्षअघि रिलिज भएको सिरिजको पहिलो चरणमा नै आफ्नो शीर्ष भूमिकाका लागि भारतको राष्ट्रिय चलचित्र पुरस्कारमा सर्वश्रेष्ठ अभिनेताको पुरस्कार जितेका थिए।