दशौँ उद्योग दिवस कार्यक्रम सम्पन्न

7

भक्तपुर । उद्यमशील संस्कृति ,राष्ट्रको समृद्धि भन्ने नाराका साथ यस वर्षको दशौँ उद्योग दिवस नेपाल घरेलु तथा साना उद्योग महासङ्घका उपाध्यक्ष चन्दनकृष्ण श्रेष्ठको प्रमुख आतिथ्ययतामा सम्पन्न भयो । सो अवसरमा श्री श्रेष्ठले देश विकासको मेरुदण्डको रूपमा रहेको लघु घरेलु तथा साना उद्योग नै भएको कारण यस्ता उद्योगलाई जीवन्तता दिन सरकारबाट ठोस कदम चाल्नु पर्ने बताउनु हुँदै यस्ता उद्योग दर्ता नवीकरण पनि सहज रूपमा गर्नुपर्ने बताउनु भयो ।त्यसै गरी अतिथि नेपाल घरेलु तथा साना उद्योग महासङ्घका उपाध्यक्ष सत्यनारायण प्रजापतिले स्वदेशी बस्तु खरिद ऐन भए तापनि व्यवहारमा लागु नभएको हुँदा भक्तपुरमा रहेका उद्यमीहरू एकजुट सो ऐन स्थानीय पालिका देखि लागु गराउन दबाब सृजना गर्नुपर्ने र त्यसको लागि नेपाल घरेलु तथा साना उद्योग महासङ्घबाट पनि सहकार्य गर्न बताउनु भयो । कार्यक्रममा भक्तपुर उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष गणेश हरी प्रजापतिले बजारमा अधिकांश वस्तुहरू स्वदेशी भन्दा विदेशी रहेको कारण हामी सामान खरिद गर्दा पनि सकेसम्म स्वदेशी बस्तुलाई प्राथमिकता दिनुपर्ने बताउनु भयो ।

उद्योग तथा वाणिज्य कार्यालयका लक्ष्मीप्रसाद कासुलाले उद्यमीलाई कुनै कुराको जानकारी आवश्यक भए कार्यालयमा आई निर्धक्क रूपमा जानकारी गराउन आग्रह गरी आजको कार्यक्रमको आयोजना गरिदिनु भएकोमा भक्तपुर घरेलु तथा साना उद्योग सङ्घ प्रति आभार व्यक्त गर्नुभयो । सङ्घका अध्यक्ष प्रेम खर्बुजाले उद्योग तथा वाणिज्य कार्यालय लगायत विभिन्न संस्थाहरूको समन्वयमा उद्यमीहरू हक हितको कार्यहरू गर्दै रहेको बताउनु हुँदै भक्तपुर नगरपालिकाको आयोजनामा यही मंसिर २८ गते देखि पुस २ गतसम्म हुने भक्तपुर महोत्सवमा घरेलु उत्पादन तथा हस्तकला मेल पनि हुने भएकोले सो मेलामा सहभागी हुन अनुरोध गर्नुभयो । साथै मध्यपुर महोत्सव पनि हुने हुँदा त्यहापनि सहभागी हुन अनुरोध गर्नुभयो ।

कार्यक्रममा भक्तपुर घरेलु तथा साना उद्योग सङ्घ महिला उद्यमी समितिका सभापति तथा सङ्घ सह सचिव सृजना कक्षपतिले घरेलु तथा साना उद्योग विकासको लागि सङ्घले खेलेको भूमिकाबारे चर्चा गर्नुभयो ।