अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला अदालत, कपिलवस्तुका तहसीलदार सन्तोष कुमार मिश्र र कम्प्युटर अपरेटर विकास पाण्डेलाई घुस रकमसहित पक्राउ गरेको छ।
बेरितको बण्डा मुचुल्का बदर गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुस रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीका आधारमा आयोगको कार्यालय, बुटवलबाट खटिई गएको टोलीले तहसीलदार मिश्र र कम्प्युटर अपरेटर पाण्डेलाई सेवाग्राहीबाट २० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरेको अख्तियारले जनाएको छ। उनीहरूको साथबाट घुस रकमसहित श्रोत नखुलेको ९६ हजार ८ सय रुपैयाँ पनि बरामद भएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जनाएका छन्।
कपिलवस्तु नगरपालिका–१ स्थित गौढी चोकबाट मंगलबार नियन्त्रणमा लिएका उनीहरूमाथि थप अनुसन्धान भइरहेको अख्तियारको विज्ञप्तिमा उल्लेख छ।