रविलाई रास्वपाले पनि दोषी देखेरै हो त अदालतले न्याय दिने अपेक्षा नगरेको ?

6

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मंगलबार बालुवाटारमा प्रदर्शन गर्ने भएको छ । रास्वपाले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा पक्राउ परेका आफ्ना सभापति रवि लामिछाने राजनीतिक प्रतिशोधका आधारमा पक्राउ परेको भन्दै तत्काल रिहाइको माग गर्दै प्रदर्शन गरिरहेको छ

रास्पवाले अधिनायकवादी दुई तिहाई सरकारको राजनीतिक प्रतिशोध र दम्भको स्रोत खोज्न भन्दै बालुवाटारमा नेपाल हाउसको अगाडि १२ बजेदेखि प्रदर्शन गर्ने जनाएको छ ।

यसअघि पोखरा केन्द्रित प्रदर्शन गरेको रास्वपाले अहिले काठमाडौँ केन्द्रित आन्दोलन गर्ने भने पनि सशक्त आन्दोलन गर्न अलमल गरेको छ ।

लामिछानेको पक्षमा प्रदर्शन गरिरहेको रास्वपाले आम रुपमा जनताको समर्थन पाउन नसकेपछि आन्दोलनको स्वरूप परिवर्तन गरेको देखिएको छ ।

रास्वपा कार्तिक २ गते पक्राउ परेका आफ्ना सभापतिलाई अदालतले न्याय दिनेमा सशंकित छ । किनकि रास्वपालाई पनि राम्रोसँग थाहा छ कि सहकारी ठगीमा रविका जस्ता सयौँ आरोपी जेलमा छन् ।

एक दुई लाख खाने त जेलमा छन् भने रवि त करोडौँ हिनामिनाको आरोपमा पक्राउ परेका छन् । सँगसँगै उनको मुद्धा संगठित अपराध र सम्पत्ति शुद्धीकरणको पनि छ ।

अहिले उनी पोखराको सूर्यदर्शन सहकारीमा परेको रिटका आधारमा उनी पक्राउ परेका हुन् । संसदीय छानबिन समितिले उनलाई दोषी देखाएपछि त्यो आधार पनि प्रमुख रहेको छ ।

उता बुटवलको सहकारीमा पनि उजुरी परेपछि रुपन्देही जिल्ला प्रहरीलेसमेत पक्राउ पुर्जी जारी गरेको छ ।

अन्य तीन सहकारीबाटसमेत रकम ठगी भएको प्रतिवेदन छानबिन समितिले दिइसकेकाले बाँकी रहेका तीन सहकारी रहेका जिल्लाबाटसमेत उनलाई पक्राउ पुर्जी जारी हुने सम्भावना छ ।

रविको चरित्र ठीक भैदिएको भए रास्वपाले जतिसक्यो छिटो फैसलाका लागि अदालतसँग अनुनय विनय गर्न सक्दथ्यो । तर त्यसो गरिएन । किनकि रवि दोषी छन् भनेर उनकै पार्टीका सदस्यसमेत रहेको प्रतिवेदनले बोलिसकेको छ ।

रविले गोर्खा मिडिया प्रालिमा हुँदा गरेको त्यो दुरुपयोगलाई सघाउन पीडितको पैसा फिर्ता गर्न म आफैँ लाग्छु पनि भनेनन् । उनले प्रतिवेदन आउना साथ त्यो स्वघोषणा गरेर प्रक्रिया अगाडि बढाएको भए त्यहाँ कुनै प्रतिशोधको गुन्जायस नै हुने थिएन ।

तर समितिले दोषी देखाउँदा पनि क्लिन चिट पाएँ भनेर उफ्रिने अनि इमानदार कार्यकर्तालाई भड्काउने गर्दा माहोल बिग्रिएको हो ।

अब रवि उम्किने आधार कहीँ कतै देखिँदैन । त्यसैले रास्वपाका नेताहरुसमेत जनताको समर्थन पाउन नसकिरहेका बेलामा अल्मलिएका छन् ।

रवि कुनै तानाशाहलाई ढाल्नका लागि लड्दा लड्दै पक्राउ परेका भए जनताको समर्थन हुन सक्दथ्यो । साथै कुनै ठूलो भ्रष्टाचारको फाइल खोल्दाखोल्दे पक्राउ परेका भए पनि उनीमाथि जनता नरम हुन सक्थे होला ।

तर उनी आफैँ गृहमन्त्री भएका बेलामा ठूला ठूला फाइल तलमाथि पारेका छन् । सुनका डल्ला ल्याउन सघाउने कृष्णबहादुर महरालाई छुट दिएका छन् । कतिपय मुद्दा त उनले चलाउन नै रोके ।

प्रहरी प्रशासनमा हस्तक्षेप गरेर चेन अफ कमाण्डलाई तहसनहस पारे । अनि तिनै रविलाई साथ दिन जनता सडकमा आउँछन् भनेर पत्याउने कसले ?

किन पछि हटे जनता ? 
लाखौँ जनता सहकारी पीडित छन् । अनि त्यही मुख्य विषयलाई आधारित मानेर रविलाई पक्राउ गरिएको छ भने फेरि उनलाई उन्मुक्ति दिएर आफ्नो खुट्टामा बञ्चरो हान्नका लागि किन नै पो जनता सडकमा जालान् र । फेरि पहिले पहिलेजस्तो जसले जे भने पनि पत्याइदिनु पर्ने अवस्था अहिले छैन ।

सामाजिक सञ्जालमा उनका कार्यकर्ताका झूटा विवरण जसरी आउँछन् त्यसैगरी कर्तूत पनि सँगसँगै बाहिरिन्छ भन्ने रास्वपाले बिर्सनु भएन ।

अन्य कुनै मुद्दामा पक्राउ परेका भए रविको समर्थनमा जनता सडकमा उत्रने थिए होलान् । तर यहाँ त उनीहरु आफैँ पीडित भएको विषय पर्यो ।

एक दुई जना सहकारी पीडितलाई ल्याएर बोल्न लगाएर रास्वपाले जुनसुकै मिडियाबाजी गर्न खोजे पनि अब पत्याउने आधार रहेन ।

सरकारले जोसुकै आरोपीलाई पक्रन हैसियत राखोस् 
यहाँ रवि अपराधी भए अब अदालतले सजाय दिन्छ । उनका बारेमा धेरै बोलिरहनै परेन । खासमा अदालतमा गैसकेको विषयमा बोल्नु पनि हुँदैन, लेख्नु पनि हुँदैन ।

तर रविकै वकिलले अदालतभित्र हुँदै नभएको घटनालाई भएकोजस्तो गरेर बाहिर बोलेको भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीलेसमेत आक्रोश पोखिसकेको छ ।

सबैले कानूनी दायराभित्र बस्नैपर्छ । अब सरकारले पनि सत्ताधारी दलका कुनै नेता जोडिएका छन् भने उनीहरुलाईसमेत सहकारी मुद्दामा बचाउन खोज्नु हुँदैन ।

एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले यसमा स्पष्ट पारिसकेका छन् । आफ्ना नेताहरु सहकारी प्रकरणमा मुछिए कारबाही हुनुपर्ने बताएका छन् ।

त्यस्तै कांग्रेसका महामन्त्रीद्धय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पनि कारबाही हुनुपर्नेमा जोड दिएका छन् ।

त्यो हो भने अब सरकार किन रोकिने ? यदि रोकिने हो भने यसले साँच्चिकै नेपाली राजनीतिमा प्रतिशोधको भावना आउँछ ।

कांग्रेस र एमाले मिलेर माओवादी र रास्वपाका नेताहरुलाई कारबाही गर्न खोज्ने अनि माओवादी र रास्वपा मिलेर कांग्रेस र एमालेलाई कारबाही गर्न खोज्ने ।

यसले त मुलुकमा विचलन बाहेक केही ल्याउँदैन । भ्रष्टाचारी होस् वा अपराधी उसको कुनै दल हुँदैन । ऊ भ्रष्टाचारी नै हो । ऊ अपराधी नै हो । हाम्राकुराको सहयोगमा