काठमाडौं । अभियन्ता युवराज सफलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्याल तथा डा.स्वर्णिम वाग्लेसहित ९ जना नेतालाई पक्राउ गरेर कानूनी कारबाहीको दायरामा ल्याउन माग गरेका छन् ।
सभापति एवम् पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेकोमा सरकारले गरेको काम कारबाहीविरुद्ध अन्दोलनमा उत्रिएको भन्दै सफलले कारबाहीको माग गर्दै जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी पेश गरेका हुन् ।
सफलले दुई जना उपसभापतिसहित रास्वपाका उपनेता विराजभक्त श्रेष्ठ, संसदीय दलका प्रमुख सचेतक सन्तोष परियार, पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठ, डा.तोशिमा कार्की, हरि ढकाल, गणेश पराजुली, मनिष झाविरुद्ध मंगलबार दिउँसो जाहेरी पेश गरेको सफलले नेपाल प्रेसलाई जानकारी दिए ।
उनका अनुसार उनीहरुले मुलुकी अपराध संहिता २०७४ को दफा ५० अनुसार राजद्रोहसम्बन्धी महलको उपदफा ३ मा उल्लेख भएको कसुर गरेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त रजौरेले भने जाहेरी दर्ता भइनसकेको नेपाल प्रेससँग बताए ।
उनले जाहेरी पेश भएको भए पनि दर्ता भइनसकेको र कोही कसैलाई पक्राउ तथा नियन्त्रणमा लिन कोहीकसैले जाहेरी दर्ता गर्न जरुरी नभएको भन्दै प्रहरीले कानून उल्लंघन गर्ने जोसुकैलाई जतिबेला पनि नियन्त्रणमा लिनसक्ने बताए ।