दमौली २६, कात्तिक । न्यूनतम पारिश्रमिक निर्धारण समितिकी अध्यक्ष संगीता खड्काले श्रमजीवि पत्रकार ऐन कार्यान्वयनलाई प्रभावकारी तबरबाट प्रक्रिया अघि बढाइएको बताएकी छन् । न्यूनतम पारिश्रमिक निर्धारण समिति काठमाण्डौंको आयोजना एवं नेपाल पत्रकार महासंघ तनहुँको समन्वयमा शनिबार दमौलीमा आयोजित श्रमजीवि पत्रकार ऐन कार्यान्वयनको अवस्था, चुनौती र भावी रणनीति विषयक जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रममा खड्काले सो बताएकी हुन् ।
श्रमजीवि पत्रकार ऐन लागु नगर्ने सञ्चारगृहलाई सरकारबाट प्रदान गरिने विज्ञापनको सुविधा रोक्ने गरी सुझाव नेपाल सरकारलाई बुझाउने तयारीमा रहेको उनको भनाई छ । न्यूनतम पारिश्रमिक निर्धारण समितिले उठाएका जायज मुद्दालाई पेशागत संघसंगठनले दबाब दिनुपर्नेमा उनको जोड थियो ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य प्रदीप काफ्लेले मोफसलमा मिडिया हाउस सक्रिय रहेको बताए । उनले मिडियालाई श्रमजिवीका समस्या समाधान खोज्नुपर्ने बताए । नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य सरिता तिम्सीना पंगेनीले सञ्चारमाध्यममा काम गर्नु अघि नियुक्तिपत्र लिएर मात्रै काम लाग्न सुझाव दिइन् । सञ्चारकर्मीको क्षमता विकासका लागि आवश्यकताको आधारमा तालिम, गोष्ठीको आयोजना गर्नुपर्नेमा उनको जोड थियो ।
नेपाल पत्रकार महासंघ तनहुँका निवर्तमान अध्यक्ष ओमकार आचार्यले जिल्लाको पत्रकारिता क्षेत्रको अवस्था, चुनौती र समस्याका विषयमा प्रकाश पारेका थिए ।
नेपाल पत्रकार महासंघ तनहुँ शाखाका अध्यक्ष उज्वल पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष निर्मल ज्ञावली, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश उपाध्यक्ष सोनी शर्मा, नेपाल प्रेस युनियन तनहुँका अध्यक्ष अमरराज नहर्की, प्रेस चौतारीका बिबि श्रेष्ठ, प्रेस सेन्टरका एस.बि.नेपाली लगायतले सञ्चारगृह र सञ्चारकर्मीलाई टिकाउन न्यूनतम पारिश्रमिक निर्धारण समितिले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा स्वागत नेपाल पत्रकार महासंघ तनहुँ शाखाकी कोषाध्यक्ष विमला कँडेल र सञ्ञ्चालन सहसचिव मिला दरैले गरेकी थिइन् ।