असार २९,
तनहुँ । जिल्लाको भानु नगरपालिकाले भानु जयन्तीका उपलक्ष्यमा आज २९ गते मङ्गलबार सार्वजानिक बिदा दिने निर्णय गरेको छ । नेपाली भाषा, साहित्यका धरोहर आदिकवि भानुभक्त आचार्यको सम्मान स्वरुप नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । नगरपालिकास्थित सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक निकायमा सार्वजनिक बिदा दिने निर्णय गरेको नगरपालिकाकी उपप्रमुख आशा थापाले जानकारी दिइन् । विसं १८७१ असार २९ गते भानु नगरपालिका–४ चुँदी रम्घामा जन्मिनुभएका भानुभक्त आचार्यको विसं १९२५ असोज ६ गते निधन भएको थियो । स्वदेश तथा विदेशी साहित्यकारहरूको समेत जमघट गरेर भानु जयन्ती साताव्यापी रुपमा मनाउँदै आएकामा यस वर्ष कोरोना सङ्क्रमणका कारण २०८ औँ भानुजयन्ती एक दिन मात्रै मनाइने भएको छ । भानु नगरपालिका–४ चुँदीरम्घा बेंसीस्थित भानुजन्मस्थल विकास समितिको कार्यालयमा भोलि बिहान भानुप्रति श्रद्धाञ्जलि तथा साहित्यिक रचना वाचन कार्यक्रम राखिएको नगरप्रमुख उदयराज गौलीले बताए ।