नजिकिदो चाडबाडमा हवाईमार्फत ओहोरदोहोर गर्नेको संख्या बढ्दो

46

काठमाडौं । पछिल्लो समय लामो दुरीका यातायातमा यात्रु चढ्न डराएका बेला आन्तरिकतर्फका जहाज भने पूर्ण क्षमतामा उडिरहेका छन्। कोरोनाको बढ्दो संक्रमणबीच चाडपर्व नजिकिँदै गएपछि हवाई माध्यमबाट राजधानीबाहिर जाने र भित्रने यात्रुको संख्या बढ्दै गएको छ।

पछिल्लो समय उपत्यकामा कोरोना संक्रमितको संख्या बढेसँगै भित्रिनेभन्दा बाहिरिनेको संख्या बढेको देखिन्छ। लामो दुरीको यात्रामा संक्रमण जोखिम हुने भएकाले अधिकांशको हवाई यात्रामा आकर्षण बढेको देखिन्छ। प्राधिकरणका अनुसार हवाई सेवा तोकिएको स्वास्थ्य मापदण्डको आधारमा सञ्चालन भएकोले सुरक्षित यात्राको लागि धेरैले रोजेका हुन्।

लामो समय बसमा यात्रा गर्नुभन्दा एक घन्टाको हवाई यात्रा स्वास्थ्यको हिसाबले सहज भएकाले अचेल दैनिक पाँच हजार यात्रु काठमाडौंबाट ओहोरदोहोर गरिरहेको विमानस्थल कार्यालयले जनाएको छ। आइतबार आन्तरिकतर्फका ५६ उडान तथा अवतरणबाट २३ सय ६३ यात्रु काठमाडौं आएका छन्। २४ सय १५ जनाले राजधानी छोडेको विमानस्थलको तथ्यांकले देखाएको छ।