उपत्यकाको ठमेल क्षेत्र नेपाल आउने विदेशी पर्यटकहरूको पहिलो गन्तव्य हो । विदेशी मात्रै होइन नेपालीहरू पनि सो क्षेत्रमा रमाइरहेको दृश्य निकै देख्न सकिन्छ । तर ठमेलसंगै जोडिएको पश्चिम ठमेल भने आकर्षक गन्तब्य हुँदाहुँदै पनि ओझेलमा परेको छ । सोही कुरालाई मध्यनजर गर्दै स्थानीय केही जागरुक युवाहरू मिली पर्यटन प्रवर्द्धनमा जुटेका छन् ।
२०७६ सालबाट पश्चिम ठमेल पर्यटन परिषद् गठन गरी “आफ्नो ठाउँ आफैं बनाउँ” अभियानमा उनिहरू लागेका हुन् । पर्यटन क्षेत्रमा लामो अनुभव बटुलेका उनीहरूलाई आफ्नै ठाउँको पर्यटन प्रवर्द्धन गर्न थप मद्दत पुग्यो । यातायात टाइम्ससंगको कुराकानीमा पश्चिम पर्यटन परिषद्का अध्यक्ष सन्तोष पाँडे भन्छन्- “ठमेल क्षेत्रमै जोडिएको भए पनि यो क्षेत्र अोझेलमा परेको भएर आफ्नो ठाउँ बनाउन हामी आफैं लागि पर्यौं।”
हुन त सरकारले नै अघि सारेको “नेपाल भ्रमण वर्ष २०२०” का लागि पनि उनीहरूले निकै तयारी गरेका थिए पश्चिम ठमेलका लागि । तथापि कोरोना भाइरसका कारण जस्तो सोचेको थियो त्यो हुन नपाएको परिषद्का सचिव आशिक अमात्य बताउँछन् । सोह्र खुट्टे, कालधारा, क्षेत्रपाटी लगायतका स्थान पश्चिम ठमेल अन्तरगत पर्दछ । कोरोनाकै कारण पश्चिम ठमेलका पर्यटन व्यवसायी हतोत्साही बनेपछि घरबेटीसंग समन्वय गरी वातावरण सहज बनाई व्यवसाय धानिरहेको परिषद्का सदस्यहरू बताउँछन् । यस्तो शंकटको बेला पनि पश्चिम ठमेलमा भने विदेशी पर्यटकको कमी नभएको अध्यक्ष पाँडे बताउँछन् ।
अहिलेको यस विषम परिस्थितिमा व्यवसाय विस्थापित हुने अवस्था आउन नदिनका लागि परिषद्ले अहम् भूमिका निर्वाह गरेको परिषद्का सह-कोषध्यक्ष राजेन्द्र कुवँरले यातायात टाइम्ससंगको कुराकानीमा भने । विगत १० बर्षदेखि पटकपटक नेपाल अाइरहेका अमेरिकी नागरिक Randall W. Bollig जसले पश्चिम ठमेल पर्यटन परिषद्संग सहकार्य गरेर पश्चिम ठमेलको प्रचारप्रसार र प्रबर्द्धनका लागि परिषद्का सदस्यहरूलाई सघाउँदै अाएका छन् ।
कोरोनाका कारण नेपालमै अड्किएका विदेशी पर्यटकहरूलाई सरकारले तोकेको सम्पूर्ण सुरक्षा मापदण्ड अपनाएर सेवा दिइरहेको परिषद्का अध्यक्ष पाँडे बताउँछन् ।