नेपालमा ढुवानी व्यवसाय भन्नेबित्तिकै ट्रक तथा ट्रिपरहरूबाट हुने ढुवानीलाई मात्रै बुझिन्छ । तर भौगोलिक अवस्था अनुसार विभिन्न सवारीसाधन मार्फत् मालसामान ओसार(पसार गर्ने व्यवस्था मिलाउने अर्थात् मालवाहक सवारीसाधन र सामान सप्लायर्स बिच समन्वय गरि पुलको काम गर्ने महत्वपूर्ण ढुवानी व्यवसाय भने अझै ओझेलमा परेको देखिन्छ । ढुवानी व्यवसाय भनेको के हो भन्ने सरकारले नै नबुझिदिंदा यस क्षेत्रका समस्याहरूको समाधान हुन सकेको छैन । आज हामीले ढुवानी व्यवसायीहरूको बर्तमान अवस्था तथा समस्याबारे ढुवानी व्यवसायी महासंघ नेपालका अध्यक्ष विश्वनाथ खनालसंग कुराकानी गरेका छौं ।
नेपालमा ढुवानी व्यवसायीहरूको अवस्था कस्तो रहेको छ ?
विश्व नै कोभिड–१९ का कारणले आक्रान्त बनिरहेको अवस्थामा नेपालमा पनि तीब्र रुपमा फैलिरहेको छ । यस्तो अवस्थामा अन्य क्षेत्र जस्तै ढुवानी व्यवसाय पनि प्रभावित बनेको छ । अति आवश्यक बस्तुहरूको लागि मात्र ढुवानी सेवा परिचालित भइरहेको छ । कोरोना भाइरसका कारण थोरै मात्र ढुवानीका साधनहरू परिचालित छन् ।
यतिबेला चाडपर्व नजिकिंदो छ, चाडबाडको समयमा विगतका बर्षहरू र यस वर्षमा कत्तिको फरक पाउनु भएको छ ?
चाडपर्व नजिकिएपनि त्यस्तो माहोल छैन । बजार चलायामान भएको छैन । बजार चलायामान नभएपछि सामाग्रीहरूको पनि खासै माग हुँदैन जसको कारण ढुवानी व्यवसाय प्रभावित बनेको छ । विगतका बर्षहरूमा चाडपर्वको समयमा बजार भरिभराउ हुन्थ्यो, सामानहरूको माग पनि उत्तिकै मात्रामा भइरहन्थ्यो र ढुवानी सेवा पनि आवश्यक पर्दथ्यो । तर यस बर्ष त्यस्तो छैन ।
यहाँ ढुवानी व्यवसायीहरूको छाता संगठन ढुवानी व्यवसायी महासंघ नेपालका अध्यक्ष रहनु भएको छ । व्यवसायीहरूको समस्या समाधानका लागि कस्तो पहल गर्नु भएको छ ?
हामीले यस क्षेत्रको हकहितका लागि विभिन्न कार्यहरू गर्दै आइरहेका छौं । गएको वर्षदेखि सरकारले ढुवानी व्यवसायमा पनि मूल्य अभिबृद्धि कर लगाएको छ । सम्पूर्ण ढुवानी व्यवसायीहरू भ्याटमा गइसकेका छन् । यो व्यवसायलाई व्यवस्थित रुपले सञ्चालन गर्न ट्रान्सपोर्ट नगर अत्यावश्यक छ, यसका लागि महासंघले पहल गरिरहेको छ, उपयुक्त ठाउँ उपलब्ध गराइदिन सरकारको सम्बन्धित निकायसँग बारम्बार माग गरिरहेको छ । काठमाडौं उपत्यका लगायत देशका विभिन्न मुख्य शहरहरूका लागि ट्रान्सपोर्ट नगरको आवश्यक भइसकेको छ, र राज्यले यसको व्यवस्था गर्नु पर्दछ ।
अन्त्यमा महासंघको अध्यक्षको हैसियतले राज्यलाई के भन्न चाहनुहुन्छ ?
सबैभन्दा दुःखको कुरा त राज्यले हाम्रो क्षेत्रबारे बुझेको नै छैन । ट्रक व्यवसायीहरूलाई नै ढुवानी व्यवसायी भन्ने सरकारको बुझाई छ । हामीले हाम्रो कार्यक्षेत्रबारे सरकारलाई बुझाउने प्रयास गर्दैछौं । राज्यले पनि हाम्रो व्यवसायका बारेमा गहिरिएर बुझ्न आवश्यक छ । अर्को कुरा अन्य विभिन्न देशहरूमा ट्रान्सपोर्ट नगर छ, हाम्रो छिमेकी देश भारतमा पनि यस्तो सुविधा छ । नेपालमा पनि ट्रान्सपोर्ट नगर बनाउन अति आवश्यक भइसकेको छ यसतर्फ राज्य गम्भीर हुुन जरुरी छ । साथै राज्यले हाम्रो व्यवसायको बारेमा राम्रोसँग बुझिदिए मात्रै पनि हाम्रो समस्याको समाधान हुनेछ ।