काठमाडौं । भारतीय मालबाहक सवारीसाधन (ट्रक) हरूले मनपरी गर्दा पनि सम्बन्धित निकायले कारबाही गर्न सकेको छैन ।
भारतीय ट्रकहरू हाम्रो सडकको क्षमता भन्दा बढी भारबहनका साथ मापदण्ड विपरीत निर्वाध रुपमा गुड्दा पनि कारबाही हुन नसकेको हो । नियम कानुनलाई मिचेर मनपरी गर्दा पनि कारबाही नभएपछि यस्तो हेपाहा प्रवृत्ति थप मौलाएको हो । विशेष गरी तराईका जिल्लाहरूमा भारतीय ट्रकहरूले भारवहन क्षमता भन्दा निकै बढी मालसामान बोकेर निष्फिक्री गुडिरहेका हुन्छन् । भारवहन क्षमता भन्दा बढी सामान बोक्दा नेपाली मालबाहक ट्रकहरू बेरोजगार बन्नु परेको छ भने अर्कोतर्फ सडक तथा पुलहरू बिग्रिरहेको अवस्था छ ।
विशेष गरी कोभिडको समयमा १० देखि १५ प्रतिशत मात्र मालबाहक ट्रकहरू सञ्चालन भइरहेको अवस्थामा भारतीय ट्रकहरूले नेपाली सडकमा राज गर्दा झनै समस्या भएको तराई यातायात व्यवसायी संघका अध्यक्ष शंकर कुमार विष्टले यातायात टाइम्ससंग गुनासो पोखे ।
विगत केही वर्ष अघिसम्म भारतबाट आउने ट्रकहरूले नेपालको निश्चित गन्तब्य अर्थात् सिमा नजिक सामान अनलोड गरेर फर्कन्थे र नेपाली ट्रकहरूले ती सामानलाई देशका विभिन्न स्थानमा ढुवानी गर्ने गर्दथे । तर पछिल्लो समय भने भारतीय गाडीहरूले पल्ट्रि गर्न मिल्ने सामानहरू पनि सिधै देशका विभिन्न स्थानमा सामानहरू ढुवानी गर्ने हुँदा नेपाली ट्रकहरू बेरोजगार बन्दै गएका छन् भने व्यवसायीहरू बैंक ऋण तिर्न नसकेर व्यवसायबाट नै विस्थापित हुने अवस्था छ ।
यसरी भारतीय ट्रकहरूले सिधै सामान ढुवानी गर्दा ती ट्रकहरूका कारण नेपालका गाँउ शहरमा कोरोना फैलिने सम्भावना अधिक हुन्छ भने खाद्य सामाग्रीहरू ढुवानी गर्ने हाम्रा नेपाली ट्रकहरू बेरोजगार भइ व्यवसायीका घर ग्यारेजमा थन्किएर बस्न बाध्य छन् । नेपालका सडकमा यसरी निर्वाध रुपले गुड्ने यस्ता भारतीय ट्रकहरूलाई कारबाही गर्न ट्रक व्यवसायीहरूले सरकारसंग पटकपटक माग गरे पनि आजसम्म सुनुवाइ नभएको तराई यातायात व्यवसायी संघका अध्यक्ष शंकर कुमार बिष्ट बताउँछन् ।