भक्तपुर । स्वर्गीय चिनिमाया पञ्चको स्मृतिमा सूर्यविनायक नगरपालिका–७ स्थित श्री ज्योति माध्यमिक विद्यालयमा रु. १ लाख १ हजारको अक्षय कोष स्थापना गरिएको छ। स्वर्गीय पञ्चको स्मृतिमा जितबहादुर पञ्चले उक्त रकम विद्यालयलाई हस्तान्तरण गर्दै अक्षय कोष स्थापना गर्नुभएको हो।
विद्यालयमा अध्ययनरत आर्थिक अवस्था कमजोर भएका तथा जेहेन्दार विद्यार्थीको शैक्षिक यात्रामा सहयोग पुर्याउने उद्देश्यले अक्षय कोष स्थापना गरिएको हो। अक्षय कोषको रकमबाट प्राप्त हुने आम्दानी विद्यार्थीको अध्ययनमा उपयोग गरिने जनाइएको छ।
श्री ज्योति माध्यमिक विद्यालयमा हाल करिब ७ सय विद्यार्थी अध्ययनरत छन्। विभिन्न आर्थिक तथा पारिवारिक कारणले अध्ययनमा समस्या भोगिरहेका विद्यार्थीलाई सानो सहयोगले समेत शिक्षालाई निरन्तरता दिन महत्वपूर्ण भूमिका खेल्ने विद्यालयको विश्वास छ।
रकम हस्तान्तरण कार्यक्रममा विद्यालयका प्रधानाध्यापक मिलन कायष्थ, सहायक प्रधानाध्यापक कृष्णलाल न्हेमाफुकी विद्यालयका शिक्षक शिक्षिका विद्यार्थी तथा शिक्षक–अभिभावक संघका रामकृष्ण खुलिमुलीलगायतको उपस्थिति रहेको थियो।
अक्षय कोष स्थापनाका लागि रकम प्रदान गर्नुको उद्देश्य स्वर्गीय चिनिमाया पञ्चको स्मृतिलाई सामाजिक तथा शैक्षिक सेवासँग जोड्नु रहेको बताइएको छ। शिक्षाको क्षेत्रमा गरिएको सहयोगले विद्यार्थीको भविष्य निर्माणमा प्रत्यक्ष योगदान पुग्ने विश्वास गरिएको छ।
अक्षय कोष स्थापनाबारे जानकारी दिँदै रामशरण त्वातीले आर्थिक रूपमा कमजोर भए पनि पढाइमा अब्बल विद्यार्थीलाई अध्ययनका लागि सहयोग पुगोस् भन्ने उद्देश्यले रकम प्रदान गरिएको बताउनुभयो। उहाँले कोषको रकम विद्यार्थीको शैक्षिक हितमा प्रभावकारी रूपमा उपयोग हुने विश्वास व्यक्त गर्नुभयो।
विद्यालयमा स्थापना गरिएको यस अक्षय कोषले आगामी दिनमा आर्थिक अभावका कारण शिक्षाबाट वञ्चित हुन सक्ने विद्यार्थीलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ। स्वर्गीय चिनिमाया पञ्चको स्मृतिमा स्थापित कोषले शिक्षा र सामाजिक उत्तरदायित्वलाई जोड्ने उदाहरण प्रस्तुत गरेको विद्यालय परिवारले जनाएको छ।















