काठमाडौं । घोडेजात्रा पर्व आज चैत कृष्ण औँसीका अवसरमा विभिन्न कार्यक्रमसहित विशेषगरी काठमाडौं उपत्यकामा हर्षोल्लासका साथ मनाइँदैछ। परम्परागत रूपमा प्रत्येक वर्ष मनाइने यस पर्वले सांस्कृतिक, ऐतिहासिक र धार्मिक महत्व बोकेको छ।
लोकविश्वासअनुसार गुरुमापा नामक राक्षस टुँडिखेलको पूर्व-दक्षिण क्षेत्रमा रहेको एक रूखमा बस्ने र सहरका बालबालिकालाई दुःख दिने गर्दथ्यो। स्थानीयवासीहरूले उक्त राक्षसको अन्त्य गरेपछि पनि यसको प्रेतात्माबाट पुनः अनिष्ट हुन सक्ने भय रहिरह्यो। सोही विश्वासका आधारमा प्रत्येक वर्ष घोडेजात्रा मनाउँदै घोडाको टापले गुरुमापाको आत्मालाई दबाउने परम्परा चलिआएको हो।
यस दिन रातिको समयमा सोही स्थानमा गुरुमापालाई खानेकुरा चढाउने चलन पनि रहेको छ। यसरी पूजा गरेपछि वर्षभर बालबालिकालाई कुनै अनिष्ट नहुने विश्वास रहँदै आएको छ।
पर्वको मुख्य आकर्षणका रूपमा नेपाली सेनाले टुँडिखेलमा अश्वकला, मोटरसाइकल स्टन्ट, शारीरिक व्यायाम तथा युद्धकला प्रदर्शन गर्ने कार्यक्रम आयोजना गरेको छ, जसले दर्शकको ध्यान आकर्षित गर्ने गर्दछ।
यसैगरी ललितपुरमा कानो घोडा दौडाएर घोडेजात्रा मनाउने छुट्टै परम्परा रहेको छ।
पर्वका अवसरमा सरकारले काठमाडौं उपत्यकाभर सार्वजनिक बिदा दिएको छ। घोडेजात्राले राजधानीवासीबीच सांस्कृतिक एकता र परम्परागत विश्वासलाई थप सुदृढ बनाउने विश्वास गरिएको छ।















