काठमाडौं। नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार अधिवक्ता किरण न्यौपानेले उक्त क्षेत्रका जनताले सामाजिक सञ्जालमा फैलाइएका हल्लाका आधारमा मत परिवर्तन नगर्ने बताएका छन्।
४ गते सोमबार चाँगुनारायण नगरपालिका–३ र ५ गते मंगलबार सोही नगरपालिकाको वडा नं. २ मा घरदैलो कार्यक्रम सम्पन्न गरेका न्यौपानेले आज भक्तपुर नगरपालिका क्षेत्रमा प्रचार अभियान अगाडि बढाएका छन्।
घरदैलोका क्रममा मतदाताहरूले नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले चाँगुनारायण नगरपालिकाअन्तर्गतका वडामा सडक, खानेपानी, अव्यवस्थित जग्गा प्लानिङलगायत स्थानीय समस्याहरू संसदमा प्रभावकारी रूपमा उठाउन नसकेको तथा केन्द्रीय बजेटसँग क्षेत्रलाई जोड्न असफल भएको गुनासो गरेका छन्।
“सदनमा छिरेर विदेशी देशहरूलाई गाली मात्र गर्ने नेमकिपालाई किन भोट दिने? शहर विकास गरेको दाबी गरिन्छ, तर प्रेम सुवाल नगरभित्र पस्दा राणाकालमा बिछ्याइएका इँटहरू खिएर हिँड्नै नसकिने अवस्था छ। त्यसतर्फ किन ध्यान छैन?” चिया पसलमा भेटिएका मतदाताहरूले प्रश्न गरेका थिए।
यस्तै, भक्तपुर नगरपालिका–४ अन्तर्गत बंशगोपाल क्षेत्रमा भेटिएका अर्का एक समूह मतदाताले पनि नेमकिपा र एमालेप्रति असन्तुष्टि व्यक्त गरेका छन्। २०३८ सालदेखि ‘मादल’ चुनाव चिन्हमा मत हाल्दै आएको बताउने उनीहरूले नारायणमान र प्रेम सुवाल सांसद बने पनि उल्लेखनीय उपलब्धि नदेखिएको गुनासो गरे।
“न त यी बाटाहरूको मर्मतमा नगरको चासो देखिन्छ, न त खानेपानी समस्या समाधान भएको छ। के सदनमा कराउनका लागि मात्र हामीले मादलमा भोट हाल्ने?” एक मतदाताले प्रश्न गरे।
अर्का एक मतदाताले भने, “भक्तपुरमा नेमकिपा र एमाले दुवै प्रभावकारी देखिएनन्। हाम्रो मत विदेशीलाई गाली गर्न प्रयोग हुनुहुँदैन। यसपटक पुरानै पार्टी भए पनि नेतृत्व परिवर्तन भएको छ, त्यसैले ‘रुख’ चिन्हमा मतदान गर्छौं।”
ज्येष्ठ नागरिक मतदाताको यस्तो अभिव्यक्ति सुनेपछि एक पत्रकारले प्रश्न गरेका थिए, “एमालेले सुरु गरेको भत्ता लिँदै एमालेमै किन भोट नहाल्ने?” त्यसको जवाफमा ती ज्येष्ठ नागरिकले भने, “हामीलाई विकास र स्थायित्व चाहिएको हो। भावनात्मक नाराले मात्र पुग्दैन। अहिले सच्चिएको कांग्रेसलाई जिताउन किरणलाई भोट हाल्ने हो।”















