काभ्रे । बेथानचोक गाउँपालिकाले राष्ट्रिय फल सुन्तला विशेष कार्यक्रम सञ्चालनका लागि प्रस्ताव माग गरेको छ।
गाउँपालिकाको आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत राष्ट्रिय फल सुन्तला विशेष कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले उक्त कार्यक्रमका लागि प्रस्ताव आह्वान गरिएको गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाभित्र रहेका इच्छुक किसान, कृषि उद्यमी, कृषक समूह, कृषि सहकारी, कृषि फर्म तथा कृषि सम्बन्धी समितिहरूले गाउँपालिकाको कार्यालय तथा सम्बन्धित वडा कार्यालयमार्फत प्रकाशित सूचनाको मितिले २१ दिनभित्र कार्यालय समयभित्र आवश्यक कागजातसहित प्रस्ताव पेश गर्न गाउँपालिकाले आग्रह गरेको छ।
सूचना अनुसार प्रस्ताव पेश गर्दा संस्था दर्ता तथा कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि, कृषि व्यवसाय तथा अनुसूचीअनुसारको प्रस्ताव, निवेदकको नागरिकता तथा परिचय खुल्ने प्रमाणपत्रको प्रतिलिपि, कृषक समूह, फर्म तथा कृषि सहकारीको हकमा कार्यसमितिको निर्णयको प्रतिलिपि अनिवार्य रूपमा पेश गर्नुपर्नेछ।
त्यसैगरी जग्गाको स्वामित्व तथा हकभोग खुल्ने प्रमाणपत्रको प्रतिलिपि, आर्थिक वर्ष २०८१/०८२ को लेखा परीक्षण प्रमाणपत्रको प्रतिलिपि, सम्बन्धित वडाको सिफारिस, प्रतिबद्धता पत्र तथा कार्यक्रमसँग सम्बन्धित अन्य आवश्यक कागजातहरू समेत पेश गर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ।
गाउँपालिकाले तोकिएको मितिभित्र सबै आवश्यक कागजातसहित प्रस्ताव तथा निवेदन पेश गर्न सम्बन्धित सबैलाई आग्रह गरेको छ।















