चलचित्र महोत्सव हुँदै, ३९ देशका ८५ चलचित्र निःशुल्क हेर्न पाइने

0

काठमाडौँ । नेपाल संस्कृति तथा चलचित्र केन्द्रको आयोजनामा ‘नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल (NCIFF)’ को सातौँ संस्करण आयोजना हुने भएको छ। माघ १६ देखि १८ गतेसम्म चाबहिलस्थित चलचित्र विकास बोर्ड, भृकुटीमण्डपको नेपाल पर्यटन बोर्ड र नेपाल पुलिस क्लबमा महोत्सव सञ्चालन हुनेछ।

महोत्सवमा ३९ देशका ८५ चलचित्र निःशुल्क प्रदर्शन गरिने आयोजकले जनाएको छ। काठमाडौँमा विश्वभरका सांस्कृतिक, सामाजिक तथा सिर्जनात्मक चलचित्रको प्रवर्द्धन गर्ने उद्देश्यसहित विगत सात वर्षदेखि निरन्तर आयोजना हुँदै आएको यो महोत्सव नेपालकै प्रतिष्ठित अन्तर्राष्ट्रिय चलचित्र उत्सवका रूपमा स्थापित हुँदै गएको आयोजकको दाबी छ।

यस वर्ष ७५ भन्दा बढी देशबाट प्राप्त करिब ७ सय चलचित्रमध्येबाट ५२ देशका १३८ चलचित्र महोत्सवका लागि छनोट गरिएको थियो। तीमध्ये विभिन्न विधाका ८५ चलचित्र प्रदर्शन गरिनेछ।

महोत्सवमा लघुचलचित्र, कथानक चलचित्र, वृत्तचित्र, एनिमेटेड चलचित्रसँगै महिला, बालबालिका, मानव अधिकार तथा सांस्कृतिक विषयवस्तुमा आधारित चलचित्रहरू समावेश छन्। “तीन मिनेटदेखि साढे दुई घण्टासम्म अवधिका चलचित्रहरू छनोट भएका छन्,” महोत्सवका निर्देशक तथा अध्यक्ष सन्तोष सुवेदीले बताए।

चाबहिलस्थित चलचित्र विकास बोर्डमा उद्घाटन समारोह आयोजना हुने महोत्सवमा चलचित्र प्रदर्शनसँगै सांस्कृतिक कला प्रदर्शनी, नृत्य, कला–संस्कृति र पर्यटनसम्बन्धी अन्तरक्रिया कार्यक्रमहरू समेत सञ्चालन हुने महोत्सवकी सह–निर्देशक सृष्टि न्यौपानेले जानकारी दिइन्। अस्ट्रेलियाली निर्देशक मौलीनाथ गंगोलीद्वारा चलचित्रसम्बन्धी मास्टर क्लास पनि प्रदान गरिनेछ।

महोत्सवका लागि गठित अन्तर्राष्ट्रिय निर्णायक मण्डलमा अमेरिकाकी निर्माता–निर्देशक जेसिका एकर्सन, बेलायतकी निर्माता एड्रियाना कुलिग, जर्जियाकी अनुसन्धानकर्ता निनी सिभेलिज, इटालीकी लेखक तथा निर्देशक भ्यालेन्टिना गाल्डी, बेलायतकी निर्देशक–निर्माता म्याग्डालिना कोर्पास, अर्जेन्टिनाका निर्देशक तथा चिकित्सक डा. जर्ज ग्युलेर्मो क्याराभोटा, ट्युनिसियाका निर्देशक नुमिन नुमिन तथा लाट्भियास्थित स्कार्लेट फिल्म्सका संस्थापक इमरोज होसेन रहेका छन्।

राष्ट्रिय जुरीमा चलचित्र लेखक तथा निर्देशक रमेश बुढाथोकी, अभिनेता धिरेन शाक्य, अभिनेत्री तथा निर्माता दीपाश्री निरौला, अभिनेता आर्यन सिग्देल र निर्माता तथा छायाँकार रविन आचार्य रहेका छन्।

महोत्सवमा भारत, बंगलादेश, चीन, थाइल्यान्ड, कोरिया, काजकिस्तान, यूएई, कतार, हङकङ, फिलिपिन्स, इन्डोनेसिया, ताइवानलगायत दक्षिण तथा पूर्वी एसियाली मुलुकका चलचित्र समावेश छन्। त्यस्तै अमेरिका, क्यानडा, अस्ट्रेलिया, बेलायत, फ्रान्स, इटाली, जर्मनी, रुस, स्विजरल्यान्ड, ट्युनिसिया, युक्रेन, स्पेन, नेदरल्यान्ड, मेक्सिको, नर्वे, ब्राजिल, सर्बिया, पोर्चुगल, पोल्यान्ड, ग्रीस, डेनमार्क, चेक रिपब्लिकलगायत युरोप तथा अफ्रिकी मुलुक मोरक्को, इजिप्ट र दक्षिण अफ्रिकाका चलचित्रहरू पनि चयन भएका छन्।

महोत्सवमा उत्कृष्ट चलचित्र, निर्देशक, अभिनेता, अभिनेत्री, छायाँकारसहित उत्कृष्ट लघु चलचित्र, वृत्तचित्र, एनिमेटेड चलचित्र, महिला चलचित्र, बालबालिका चलचित्र तथा मानव अधिकारसम्बन्धी चलचित्र विधामा प्रतिस्पर्धा हुनेछ। नेपाल पुलिस क्लबमा हुने समापन समारोहमा विभिन्न विधामा उत्कृष्ट ठहरिएका चलचित्र, कलाकार तथा प्राविधिकलाई अवार्ड प्रदान गरिनेछ।

यस वर्ष १५ राष्ट्रिय र १५ अन्तर्राष्ट्रिय गरी ३० उत्कृष्ट चलचित्र सम्मान गरिनेछ। साथै चलचित्र क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका व्यक्तित्वहरूलाई विशेष सम्मान प्रदान गरिने अध्यक्ष सुवेदीले बताए।