भक्तपुर। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भक्तपुर क्षेत्र नम्बर १ बाट भरतबहादुर खड्कालाई उम्मेदवार बनाएको छ।
खड्का नेपाली सेनाका अवकाशप्राप्त जर्नेल हुन्। उनी अघिल्लो निर्वाचनमा पनि यही क्षेत्रबाट उम्मेदवार बनेका थिए र त्यसबेला तेस्रो स्थानमा रहेका थिए।
भक्तपुर–१ लाई प्रजातन्त्रपछि निरन्तर नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को गढका रूपमा लिइँदै आएको छ। अघिल्लो निर्वाचनमा यस क्षेत्रबाट नेमकिपाका प्रेम सुवाल निर्वाचित भएका थिए। तर यसपटक नेमकिपाले हालसम्म आफ्नो उम्मेदवार सार्वजनिक गरेको छैन।
यसै क्षेत्रबाट नेपाली कांग्रेसले अधिवक्ता किरण न्यौपानेलाई उम्मेदवार बनाइसकेको छ भने नेकपा एमालेबाट चाँगुनारायणका पूर्व मेयर तथा केन्द्रीय सदस्य सोमप्रसाद मिश्र उम्मेदवार बनेका छन्।
अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसको उम्मेदवार नहुँदा एमाले र राप्रपालाई राहत पुगेको थियो। तर यसपटक प्रमुख दलहरू मैदानमा उत्रिएसँगै भक्तपुर–१ को चुनाव त्रिकोणात्मक र थप प्रतिस्पर्धात्मक हुने देखिएको छ।















