भक्तपुर। नेकपा एमालेले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भक्तपुर क्षेत्र नम्बर १ बाट सोमप्रसाद मिश्रलाई उम्मेदवार बनाएको छ।
एमालेका केन्द्रीय सदस्यसमेत रहेका मिश्र चाँगुनारायण नगरपालिकाका पूर्व मेयर हुन्। उनी यसपटक एमालेको तर्फबाट प्रतिनिधिसभा चुनावी प्रतिस्पर्धामा उत्रिन लागेका छन्।
भक्तपुर–१ लाई लामो समयदेखि नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को गढका रूपमा लिइँदै आएको छ। प्रजातन्त्र स्थापनापछि हालसम्म भएका सबै निर्वाचनमा यस क्षेत्रबाट नेमकिपाकै उम्मेदवार विजयी हुँदै आएका छन्। अघिल्लो निर्वाचनमा पनि नेमकिपाका प्रेम सुवाल निर्वाचित भएका थिए। तर यसपटक नेमकिपाले अहिलेसम्म आफ्नो उम्मेदवार सार्वजनिक गरेको छैन।
यसै क्षेत्रबाट नेपाली कांग्रेसले अधिवक्ता किरण न्यौपानेलाई उम्मेदवार बनाइसकेको छ। अघिल्लो निर्वाचनमा कांग्रेसको उम्मेदवार नहुँदा एमाले र राप्रपाले लाभ लिएको आकलन गरिँदै आएको थियो।
यसपटक भने कांग्रेस, एमाले र नेमकिपाबीच हुने सम्भावित प्रतिस्पर्धाले भक्तपुर–१ को चुनावलाई रोचक र प्रतिस्पर्धात्मक बनाउने देखिएको छ।















