भक्तपुर । जिल्ला निर्वाचन कार्यालय भक्तपुरले भोलि हुने उम्मेदवारी दर्ताका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । सल्लाघारीस्थित जिल्ला निर्वाचन कार्यालयले सोमबार पत्रकार सम्मेलन गर्दै भक्तपुरका दुईवटै निर्वाचन क्षेत्रका लागि फरक–फरक स्थानमा उम्मेदवारी दर्ता गरिने जानकारी दिएको हो ।
जिल्ला निर्वाचन अधिकृत प्रकाश मगरका अनुसार भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ को उम्मेदवारी दर्ता यसअघिकै स्थान जनज्योति पुस्तकालय, दरबार क्षेत्रमै हुनेछ । त्यस्तै निर्वाचन क्षेत्र नम्बर २ को उम्मेदवारी दर्ता कृषि तालिम केन्द्र, बोदेमा गरिनेछ ।
उम्मेदवारी दर्ताको समय बिहान १० बजेदेखि साँझ ५ बजेसम्म तोकिएको छ । सो अवधिभित्र जुनसुकै समयमा पनि उम्मेदवारी दर्ता गर्न सकिने निर्वाचन अधिकृत मगरले जानकारी दिनुभयो ।
यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ ले भोलि बिहान ९ः३० बजे कमलविनायकस्थित भत्केको पाटीमा भेला हुन पार्टीका नेता–कार्यकर्ता र समर्थकहरूलाई सूचना जारी गरेको छ । केन्द्र, प्रदेश, विभाग, जिल्ला, नगर तथा सम्पूर्ण वडाका पदाधिकारी तथा ‘घन्टी’ समर्थकहरूलाई र्यालीका लागि अनिवार्य उपस्थित हुन आग्रह गरिएको छ ।
भक्तपुरमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी तीव्र पारिएको छ । निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न निर्वाचन आयोग, जिल्ला प्रशासन कार्यालय तथा सुरक्षा निकायहरूले आवश्यक तयारी पूरा गरिसकेका छन् ।
निर्वाचन कार्यालयका अनुसार मतदाता नामावली अद्यावधिक भइसकेको छ भने मतदान स्थल र मतदान केन्द्रहरूको व्यवस्थापन अन्तिम चरणमा पुगेको छ । जिल्लाभर मतदानस्थल तथा मतदान केन्द्र निर्धारण गरी भौतिक पूर्वाधार, मतपेटिका, गोप्य मतदान कक्ष तथा सुरक्षासम्बन्धी प्रबन्ध मिलाइएको छ ।
निर्वाचनलाई मध्यनजर गर्दै जिल्लामा सुरक्षा व्यवस्था कडा पारिने बताइएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र आवश्यक परेमा म्यादी प्रहरी परिचालन गरिनेछ । संवेदनशील मतदान केन्द्रहरूमा विशेष सुरक्षा योजना लागू गरिने सुरक्षा निकायले जनाएको छ ।
यस निर्वाचनमा विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरू प्रतिस्पर्धामा उत्रिएका छन् । उम्मेदवारहरू मतदाताको घरदैलोमा पुगेर आफ्ना एजेन्डा र प्रतिबद्धता सार्वजनिक गरिरहेका छन् । विकास, सुशासन, शिक्षा, स्वास्थ्य र स्थानीय पूर्वाधार प्रमुख चुनावी मुद्दाका रूपमा देखिएका छन् ।
निर्वाचन आयोगले सबै मतदातालाई मतदान प्रक्रियामा सहभागी भई आफ्नो मताधिकार प्रयोग गर्न आग्रह गरेको छ । साथै निर्वाचन आचारसंहिता कडाइका साथ पालना गर्न निर्देशन दिँदै उल्लंघन गरे कानुनअनुसार कारबाही गरिने चेतावनी पनि दिएको छ ।
स्थानीय बासिन्दाहरू निर्वाचनलाई लोकतन्त्रको महत्वपूर्ण अभ्यासका रूपमा लिँदै उत्साहका साथ मतदानमा सहभागी हुने तयारीमा छन् । फागुन २१ गते बिहानदेखि तोकिएका मतदान केन्द्रमा मतदान प्रक्रिया सुरु हुने र साँझ मतदान सकिएपछि मतगणनाको तयारी गरिने जनाइएको छ ।















