मकवानपुर ।
बागमती प्रदेश सभाका छ जना प्रदेश सभा सदस्यले पदबाट राजीनामा दिनुभएको छ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बन्न नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेश सभा सदस्यहरूले सोमबार राजीनामा दिनुभएको हो ।
राजीनामा दिनेहरूमा नेपाली कांग्रेसका कुन्दनराज काफ्ले, नेकपा एमालेका अमनकुमार मास्के र प्रकाश श्रेष्ठ, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का युवराज दुलाल र वसन्तप्रसाद मानन्धर तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका सुनिल केसी रहनुभएको छ । उहाँहरूले आ–आफ्नो राजीनामा प्रदेश सभा सचिवालय हेटौँडामा बुझाउनुभएको उपसभामुख अप्सरा चापागाईंले जानकारी दिनुभयो ।
कांग्रेस नेता कुन्दनराज काफ्ले दोलखा १ (क) बाट २०७९ सालको निर्वाचनमा प्रदेश सभा सदस्य निर्वाचित हुनुभएको थियो । उहाँ बागमती प्रदेश सरकारका पूर्व आर्थिक मामिला तथा योजना मन्त्रीसमेत हुनुहुन्छ । काफ्लेले यसअघि नै प्रदेश सभा सदस्यबाट राजीनामा दिएर प्रतिनिधिसभा उम्मेदवार बन्ने घोषणा गर्नुभएको थियो ।
यस्तै नेपाली कम्युनिष्ट पार्टीले सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्ष उम्मेदवार बनाएपछि युवराज दुलालले प्रदेश सभा सदस्य पदबाट राजीनामा दिनुभएको हो । दुलाल २०७९ सालको निर्वाचनमा तत्कालीन नेकपा माओवादी केन्द्रबाट सिन्धुपाल्चोक क्षेत्र नम्बर २ (ख) बाट प्रत्यक्ष निर्वाचित हुनुभएको थियो । उहाँ प्रदेश सरकारका पूर्व मन्त्री पनि हुनुहुन्छ ।
त्यसैगरी वसन्तप्रसाद मानन्धर २०७९ को निर्वाचनमा तत्कालीन नेकपा एकीकृत समाजवादी पार्टीबाट काठमाडौँ क्षेत्र नम्बर ७ (क) बाट प्रदेश सभा सदस्य निर्वाचित हुनुभएको थियो ।
नेकपा एमालेका अमनकुमार मास्के काठमाडौँ ६ (ख) र प्रकाश श्रेष्ठ काठमाडौँ ७ (ख) बाट तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका सुनिल केसी काठमाडौँ २ (क) बाट २०७९ सालको निर्वाचनमा प्रदेश सभा सदस्य निर्वाचित हुनुभएको थियो । मानन्धर, मास्के र श्रेष्ठ प्रदेश सरकारका पूर्व मन्त्रीसमेत हुनुहुन्छ ।
प्रदेश सभा सचिव रामकुमार पौडेलले प्रदेश सभा सदस्यहरूको राजीनामा प्राप्त भएको र स्वीकृतिको प्रक्रिया अगाडि बढाइएको जानकारी दिनुभयो ।
निधिसभा निर्वाचनमा उम्मेदवार बन्ने तयारी















