चौमाला (कैलाली)। २४ भदौमा भएको जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीले आगजनी गरी क्षति पुर्याएको सुदूरपश्चिम प्रदेश सभाको भवन मर्मत सम्पन्न भएको छ । करिब चार महिनाको मर्मत तथा पुनःस्थापना कार्यपछि प्रदेश सभा सचिवालयले बैठक सञ्चालन गर्ने तयारी पूरा गरेको जनाएको छ ।
भवन मर्मतसँगै सभाभित्र कुर्सी, टेबुल, माइक तथा आवश्यक प्राविधिक उपकरणहरू जडान गरिसकिएको छ । जेनजी आन्दोलनपछि अवरुद्ध हुँदै आएको प्रदेश सभाको बैठक अब पुनः बस्ने भएको हो ।
प्रदेश सभाको कार्य व्यवस्था परामर्श समितिको आइतबार बसेको बैठकले आगामी बुधबार दिउँसो २ बजे प्रदेश सभाको बैठक आह्वान गर्ने निर्णय गरेको प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले जानकारी दिनुभयो ।
उहाँका अनुसार बैठकको कार्यसूचीअनुसार शून्य समयमा प्रदेश सभा सदस्यहरूलाई आफ्ना धारणा राख्न समय प्रदान गरिनेछ । साथै, सुदूरपश्चिम प्रदेश जीवनाशक विषादी व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक टेबुल गर्ने तथा सार्वजनिक लेखा समितिको प्रतिवेदन पेस गर्ने कार्यसूची पनि बैठकमा समावेश गरिएको छ ।
लामो समयपछि प्रदेश सभाको बैठक बस्न लागेपछि प्रदेशको विधायन र संसदीय गतिविधि पुनः सक्रिय हुने अपेक्षा गरिएको छ ।














