नेपाल कोरियामैत्रीका डा. रौशनद्वारा नेकपा प्रवेशको हल्ला खण्डन

0

भक्तपुर । नेपाल–कोरिया मैत्री नगरपालिका अस्पतालका कार्यकारी निर्देशक (मेसु) डा. दिपेन्द्र कुमार (डि.के.) रौशनले आफू नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश नगरेको स्पष्ट पार्नुभएको छ।

डा. रौशनले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै व्यक्तिगत भेटघाटलाई तोडमोड गरी पार्टी प्रवेशका रूपमा प्रचार गरिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै खेद व्यक्त गर्नुभएको हो।

विज्ञप्तिमा उहाँले उल्लेख गर्नुभएको छ,
“नेपाल–कोरिया मैत्री नगरपालिका अस्पतालका मेसुका रूपमा कार्यरत म डा. दिपेन्द्र कुमार रौशन नेकपामा प्रवेश गरेको भनी विभिन्न सामाजिक सञ्जालमार्फत भ्रामक प्रचार गरिएको जानकारी पाएँ। मेरो व्यक्तिगत भेटघाटलाई पार्टी प्रवेशका रूपमा प्रस्तुत गरिनु दुःखद् छ, यसप्रति म खेद प्रकट गर्दछु।”

डा. रौशनले आफू पूर्ण रूपमा चिकित्सक पेशामा आवद्ध भई सेवामा समर्पित रहेको र सबै राजनीतिक दलसँग सुमधुर सम्बन्ध रहे पनि कुनै पनि राजनीतिक पार्टीसँग औपचारिक रूपमा आवद्ध नरहेको स्पष्ट पार्नुभएको छ।

“चिकित्सक पेशामार्फत जनसेवामा क्रियाशील भएकाले मेरो सम्पूर्ण राजनीतिक दलसँग सम्बन्ध सुमधुर छ। तर म कुनै पनि राजनीतिक पार्टीमा आवद्ध छैन,” विज्ञप्तिमा भनिएको छ।

उहाँले राजनीति भन्दा पनि स्वास्थ्य सेवा र पेशागत जिम्मेवारीप्रति समर्पित रहँदै सेवा प्रवाहलाई निरन्तरता दिने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ।