वीरगञ्ज । अनुचित लेनदेन (मिटरब्याज)सम्बन्धी एक हजार ६९७ उजुरी मेलमिलापमार्फत मुद्दा टुङ्ग्याइएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता हरिबहादुर बस्नेतका अनुसार साहुकर र अनुचित लेनदेन पीडितबीच जिल्लाभरिमा दुई हजार ३ सय ६७ उजुरी परेकामा हालसम्म छ सय ३५ उजुरी फर्स्योट गर्न बाँकी छ ।
मिटरब्याजविरुद्ध किसान मजदुर आन्दोलनका सचिव शम्भुप्रसाद यादवका अनुसार, एक लाखको ऋण दिएर तीन लाख रुपैयाँसम्मको तमसुक बनाउने साहुकारको प्रवृत्ति अझै पनि हटेको छैन । अझै पनि वास्तविक मिटरब्याजपीडितले न्याय पाउन नसकेको उनी बताउँछन् ।
पोखरिया नगरपालिकाका कनैयाप्रसाद यादवले पाँच वर्षअघि एक लाख १० हजार रुपैयाँ ऋण लिएकामा साहुकार जोगिन्दर राउत कुर्मीले तीन लाख ३० हजार रुपैयाँको तकसुक बनाएको आरोप लगाए । उनले भने, ‘सरकारले यस्ता गतिविधि नियन्त्रण गर्न गम्भीर हुनुपर्छ ।’
पर्सामा मेलमिलापको बिगो २९ करोड १२ लाख ८५ हजार ५ सय ९७ रुपैयाँ रहेको, ४० बिघा १५ कट्ठा १९ धुर जग्गा फिर्ता गराइएको जानकारी प्रवक्ता बस्नेतले बताए ।














