महोत्तरी। महोत्तरीको सदरमुकाम जलेश्वरमा आएको बाढीको कारण दर्जनभन्दा बढी कार्र्यालयहरुमा पानी पसेको छ । बाढीको कारण तीन दिनदेखि जलेश्वर क्षेत्रमा विजुली समेत अवरुद्ध छ । सदरमुकाम जलेश्वर जोड्ने सडक समेत अवरुद्ध छ ।
लगातारको वर्षाको कारण जलेश्वरमा बाढी आउँदा जलेश्वर नगरपालिकासहित प्रादेशिक अस्पताल जलेश्वर, विद्युत प्राधिकरण जलेश्वर शाखा तथा सवस्टेशन, नेपाल टेलिकम, लोकसेवा आयोग, जिल्ला प्रशासन कार्यालय, जिल्ला अदालतका कार्यालयहरुमा पानी पसेको छ ।
विद्युत सवस्टेशनमा बाढीको पानी पसेको कारणले तीन दिनदेखि जलेश्वर क्षेत्रमा विद्युत अवरुद्ध छ । जलेश्वरका युवा दिपेन्द्र चौधरीले शनिबार दिनभरी काटिएको विजुली आइतबार दुई घण्टाको लागि आए पनि पुनः सवस्टेशनमा बाढीको पानी पसेपछि अवरुद्ध भएको बताउनुभयो ।
लगातारको अविरल वर्षाको कारण महोत्तरीको विभिन्न क्षेत्रहरुमा बाढी र डुवान भए पनि आइतबार रातिदेखि पानी पर्नेक्रम रोकिएको छ । डुवान विस्तारै कम हुन थालेको छ । शनिबारदेखि लगातार परिरहेको पानीको कारणले महोत्तरीका नदीहरुमा जलस्तर बढनुका साथै विभिन्न ठाउँको तटबन्धहरु कटान गरेपछि बाढी जलेश्वरको वस्तीमा प्रवेश गरेको थियो ।
लगातारको पानीको कारणले जिल्लामा रहेको रातो, जंग्हा, माढा, विग्ही, गेरुकी, कुटमेश्वरी लगायतका दर्जनभन्दा नदीहरुमा जलस्तर बढेपछि रातो नदीको रतवारमा २० मिटर बाँध कटान भएको छ । त्यसैगरी एकडारा, बलवा तथा जलेश्वर नगरपालिका ३ को धवौलीमा सशस्त्र प्रहरी चेकपोष्टभन्दा दक्षिणमा ३५ मिटर बाँध कटान गरेपछि जलेश्वरमा बाढी आएको चौधरीले बताउनुभयो ।
रतवाराको तटबन्ध कटानले पानी सोझै सदरमुकाम जलेश्वर प्रवेश गरेको थियो । जसका कारण जलेश्वरको महादेव मन्दिर क्षेत्र, जलेश्वरको अस्पताल चोक, जिरोमाइल चोक, बसस्टेण्डचोक डुवानमा परेको छ ।
बाढीको कारणले जिल्लाको सदरमुकाम जलेश्वरसँग धेरै पालिकाको सडक अवरुद्ध भएको छ । बाढीको कारण जलेश्वर बर्दिबास, जलेश्वर जनकपुर, जलेश्वर मटिहानी लगायतका क्षेत्रहरुको सडक अवरुद्ध छ ।
मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डलले सुगा गाउँभन्दा पूर्व रहेको लचका भएर दुई फिटभन्दा बढी पानी बगिरहेकाले जलेश्वर मटिहानी आउन पैदल यात्रीहरुलाई समेत समस्या भइरहेको बताउनुभयो । पानी घटने क्रममा रहेकाले सडक चाँडै सञ्चालनमा आउने बताउनुभयो ।